काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको थिमीदेखि ललितपुरको बालकुमारीसम्म १३२ केभीको डबल सर्किट भूमिगत प्रसारण लइन निर्माण गर्ने भएको छ । यसका लागि प्राधिकरणले अनुमति पत्र माग गर्दै विद्युत् विकास विभागमा आवेदन पेस गरेको विभागले जनाएको छ ।
कूल ७.०९ किलोमिटर लम्बाइ हुने प्रसारण लाइन मध्यपुर थिमी नगरपालिका–६, पुरानो बाटाेस्थित सबस्टेशनबाट सुरु भई थिमीकै वडा नम्बर ५, ४, ३, २ र १, ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नम्बर ५, ३ र २ हुँदै ललितपुर महानगरपालिका–९ मा रहेको बालकुमारी सबस्टेशनमा जोडिने छ ।
यस लाइन अन्तर्गत बालकुमारी सबस्टेशनमा दुई वटा १३२/६६ केभी क्षमता ६३ एमभिए र दुई वटा १३२/११ केभी क्षमता ४५ एमभिए ग्यास इन्सुलेटेड सबस्टेशन (जिआइएस) समेत निर्माण गरिने भएको छ । त्यस्तै, यस लाइन अन्तर्गत ६ मिटर लम्बाइ, ४ मिटर चौडाइ र २ मिटर गहिराइका प्रतिसर्किट १३ वटा ज्वाइन्ट पिट (जाेर्ती खाडल) हरू रहने छन् । ज्वाइन्ट पिटबीचको दूरी ५ सय मिटर रहने छ । लाइन निर्माणका लागि केबल बिछ्याउन तथा पिट निर्माणका लागि होरिजेन्टल डाइरेक्शनल ड्रिलिङ र खुला उत्खनन गरी दुवै प्रविधि अपनाइने छ ।
यो प्रसारण लाइन निर्माणका लागि मार्गाधिकार (राइट अफ वे) लिनु आवश्यक नरहेको र सबस्टेशनहरू निर्माणका लागि १.९०२२ हेक्टर जग्गा आवश्यक पर्ने जनाइएको छ । भूमिगत प्रसारण लाइनको निर्माण साढे २ वर्ष (३२ महिना) भित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।
उक्त लाइन निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र राय सुझाव पेस गर्न विभागले शुक्रबार सूचना जारी गरेको छ ।