काठमाडौं । मध्य भोटेकासी जलविद्युत कम्पनीको साधारण सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोसी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो ।
सय रुपैयाँमा अंकित ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर आवेदन खुल्ला गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन भएको सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।
यस्तै, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदकले छिटोमा असोज २५ गतेसम्म र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि पनि दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीले पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि १९.५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटलाई बिक्री प्रबन्धक तोकिएको छ । चिलिमेको सहायक मध्येभोटेकोसीले सिन्धुपाल्चोकमा १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।