विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दूधकोसी जलाशय जलविद्युत आयोजना निर्माणको मुख्य जिम्मेवारीमा इन्जिनियर विमल गुरुङलाई पठाएको छ । प्राधिकरणको सहायक दूधकोसी जलविद्युत कम्पनी लिमिटेडमा उनलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा आयोजना प्रमुखको जिम्मेवारी तोकिएको हो ।

२६ वर्षदेखि प्राधिकरण अन्तर्गतको जिम्मेवारीमा रहेर जलविद्युत विकासमा काम गरेका गुरुङलाई ६३५ मेगावाटको दूधकोसीको मुख्य जिम्मेवारी तोक्नुले यो आयोजना पनि तामाकोसी जस्तै सफल बन्छ भनेर ढुक्क हुने संकेत देखिएको छ । यसलाई निर्माणको चरणमा पुर्याउन आफू कटिबद्ध भएर लाग्ने उनले बताएका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीमा अध्ययनको चरणदेखि नै जोडिएका गुरुङ नेतृत्व तथा व्यवस्थापकीय क्षमतामा अब्बल मानिन्छन् । तामाकोसीको निर्माणका क्रममा आएका विभिन्न अप्ठ्यारा समस्या समाधान गर्ने, स्थानीयवासीसँग समन्वय गर्ने, राजनीतिक दलका नेता कार्यकर्तालाई आयोजनाको महत्वका विषयमा बोध गराउने तथा प्रशासनिक निकायसँग समन्वय गरी द्रुत गतिमा काम गर्ने सन्दर्भमा उनले उल्लेख्य भूमिका खेलेका थिए ।

स्थानीयवासीको असहमति तथा राजनीतिक दलका नेता कार्यकर्ताको अनेक माग सम्बोधन गर्ने सन्दर्भमा पनि तामाकोसीको नेतृत्वलाई अप्ठ्यारो पर्दा उनै गुरुङ अगाडि उभिएर निकास खोज्ने प्रयास गर्ने गर्थे । तामाकोसी आयोजना पूरा हुनुमा एउटा इन्जिनियर, व्यवस्थापक तथा सहयोगीको रूपमा उनले खेलेको भूमिका विशेष स्मरण गर्ने गरिन्छ ।

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट इन्जिनियरिङ गरेका उनी सन् १९९७ देखि जलविद्युत विकासमा जोडिँदै आएका छन् । नर्वे, जापान, चीन लगायत देशमा जलविद्युत विकासम्बन्धी विविन्न अन्तर्राष्ट्रिय तालिम हासिल गरेका गुरुङका देश तथा विदेशका जर्नलहरूमा अनुसन्धानमूलक आलेखहरू समेत प्रकाशित भएका छन् ।

जलविद्युतमा योगदान

पूर्वको मनोरम जिल्ला इलाममा जन्मेका विमल गुरुङ सन् १९९७ देखि २००० सम्म १४४ मेगावाटको कालीगण्डकी ‘ए’को निर्माणमा जोडिएका थिए । त्यसपछि, ३ वर्ष अर्थात् २००३ सम्म प्राधिकरणको पहिलो सहायक कम्पनीले निर्माण थालेको २२ मेगावाटको चिलिमेमा वरिष्ठ सिभिल इन्जिनियरको रूपमा खटिए । यसपछिका दुई वर्ष भने उनले प्राधिकरणभित्रै विभिन्न भूमिका रहेर काम गरे ।

प्राधिकरणको दुई वर्षे जिम्मेवारीमा रहँदा उनी १०१ मेगावाटको तमोर–मेवा, १० मेगावाटको माथिल्लो हेवा लगायत आयोजनाको अध्ययन तथा ४०० किलोवाटको गमगाडको डिजाइन पुनरावलोकनमा खटिएका थिए । त्यसपछि उनी सम्भाव्यता अध्ययनदेखि विस्तृत डिजाइन, निर्माण र सञ्चालनसम्म झन्डै १८ वर्ष (२०७९ माघ) सम्म माथिल्लो तामाकोसीमा रहे । त्यहाँ रहँदा उनले इन्जिनियरको भूमिका मात्र निर्वाह नगरी व्यवस्थापकीय पक्षमा समेत नेतृत्वलाई विशेष सहयोग पुर्याएका थिए ।

दूधकोसीको छोटो विवरण

सन् १९८५ (वि.सं. २०४२/४३ साल) मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार गरेको कोसी बेसिन गुरुयोजनामा यो आयोजना निर्माणको परिकल्पना गरिएको थियो । यसपछि, सन् १९९८ मा प्राधिकरणले यसको सम्भाव्यता अध्ययन गरेको थियो भने सन् २०१४ को जाइकाले पहिचान गरेका नेपालका १० उत्कृष्ट जलशाय आयोजनाहरूमा दूधकोसीलाई पहिलो प्राथमिकतामा राखिएको थियो ।

अहिले एसियाली विकास बैंक (एडिबी) अनुदान सहयोगमा दूधकोसीको विस्तृत इन्जिनियरिङ डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । वातावरणीय अध्ययन र वित्तीय व्यवस्थापनलाई चाँडै नै टुंगोमा पुर्याई निर्माणको चरणमा पुर्याउन आफूले भरमग्दुर प्रयास गर्ने गुरुङले बताए । इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएसन विथ न्यूजेक नामको कम्पनीले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इन्जिनियरिङ तथा सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम गरिरहेको छ ।

खोटाङ र ओखलढुंगाको सीमा भएर बग्ने दूधकोसी नदीमा उक्त आयोजना विकास गर्न लामाडाँडा विमानस्थलबाट करिब ११ किलोमिटर उत्तर–पश्चिम रभुँवाघाटमा प्रस्ताव गरिएको छ । रभुँवाघाटमा १६० मिटर अग्लो बाँध बाँधेर बाँधस्थलबाट १३.५ किलोमिटर लामो सुरुङमार्फत ल्याइएको पानी विद्युतगृहमा खसालिनेछ ।

आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै दूधकोसी जलाशयमा डुङ्गा सयर, माछापालन तथा पर्यटन विकास जस्ता बहुआयामिक विकास हुने विश्वास गरिएको छ । साथै, धार्मिकस्थल हलेसी महादेवको दर्शन गर्न आउने पर्यटकलाई डुङ्गा सयर गराई थप धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने अवस्था पनि देखिन्छ ।

माथिल्लो तामाकोसी सफल हुनुमा त्यहाँ नेतृत्व तथा मुख्य जिम्मेवारीमा रहेकादेखि तल्लो तहका कर्मचारी र कामदारहरूको उतिकै भूमिका रह्यो । यो भन्दा ठूलो भूमिका जिल्लाका राजनीतिक दल, स्थानीय सरकार, प्रशासनिक संयन्त्र र सरोकारवाला निकायको रह्यो । हरेक राजनीतिक दलको एउटै आवाज भएकै कारण अनेक प्राकृतिक विपद् सहँदै र बीचबीचमा कामदारका समस्या झेल्दै तामाकोसी सफल भयो । यही उदाहरण दूधकोसीमा समेत कार्यान्वयनमा ल्याउन सकिन्छ ।

पछिल्लो अध्ययन अनुसार आयोजनाको भ्याट सहितको कूल लागत २ अर्ब २० करोड अमेरिकी डलर अनुमान गरिएको छ ।

आयोजनाका सबल पक्षहरू

(क) विस्थापित घरधुरीको संख्या कम

(ख) दूधकोसी हिमनदी भएको हुँदा पानीको पर्याप्त उपलब्धता

(ग) वार्षिक ३४४३ गिगावाट घन्टा ऊर्जा उत्पादन हुने हूँदा आन्तरिक खपत तथा बाह्य निकासीका लागि आकर्षक

(घ) देशको केन्द्र काठमाडौंबाट १६० किलोमिटर दूरीमा

(ङ) जलाधार क्षेत्रः ३८५७ वर्ग किलोमिटर

प्रभावित क्षेत्र

(क) खोटाङका ३ गाउँपालिका तथा नगरपालिकाका १३ वडाहरू, ओखलढुंगाको एउटा गाउँपालिकाका ५ वडाहरू र सोलुखुब्बुका २ गाउँपालिकाका ३ वडाहरू प्रभावित हुने देखिन्छ ।

(ख) प्रभावित घरधुरीः पूर्ण प्रभावित घरधुरी २३८, आंशिक प्रभावित घरधुरी २२२३ र समग्र प्रभावित घरधुरी ३१३८

(ग) प्रसारण लाइनबाट प्रभावित घरधुरी ५२

(घ) आयोजनाबाट प्रभावित हुने भूमि ५९२६५ रोपनी

(ङ) पहुँचमार्गबाट प्रभावित भूमि ६२३५ रोपनी

जलाशयको संरचना

(क) जलाशय क्षेत्र १९.७ वर्गकिलोमिटर

(ख) जलाशयको क्षमता १५८.१ करोड घनमिटर पानी भण्डारण हुन सक्ने

(ग) जलाशयमा भण्डारित पानी मध्ये १३४.२ करोड घनमिटर उपयोग गर्न सकिने

(घ) समुद्र सतहदेखि ६४० मिटर उचाइमा जलाशय निर्माण हुने

अन्य पक्ष

(क) बाँधको प्रकारः कंक्रिट रकफिल बाँध (उचाइ २२० मिटर, लम्बाइ ८१५.४० मिटर)

(ख) सुरुङमार्गः ८.३ मिटर व्यासको १३.३० किलोमिटर

(ग) विद्युतगृहः भूमिगत

(घ) टर्बाइनः १५० मेगावाटका ४ वटा फ्रान्सिस, सहती विद्युतगृहमा एउटा ३५ मेगावाटको टर्बाइन

(ङ) प्रसारण लाइनः १०२ किलोमिटर ४०० केभी डबल सर्किट

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३