दोलखा । जिम्मेवारीको हिसाबले बलभद्र अधिकारी नेपाल विद्युत्को प्राधिकरणका उपप्रबन्धक हुन् । अहिले उनी घोराही–माडीचौर १३२ केभी प्रसारण लाइनको आयोजना प्रमुखको जिम्मेवारीमा छन् । उनको क्षेत्राधिकार लुम्बिनी प्रदेशको रोल्पा, प्युठान र दाङ जिल्ला पर्छ । उक्त आयोजना समयमै पूरा गरी लुम्बिनी प्रदेशमा गुणस्तरीय र भरपर्दो विद्युत्को प्रवाह गराउन उनी खटिइरहेका छन् । त्यसैको निरन्तरता स्वरूपमा रोल्पादेखि रुकुमसम्मको अर्को १३२ केभीकै बाथिकोट–खुब्री ७७ किलोमिटर लामो प्रसारण लाइन पनि छ । त्यो आयोजना प्रमुखको जिम्मेवारी पनि अधिकारीकै काँधमा छ ।
एक महिनाअघि (असोज ११ गते) अधिकारी कार्यक्षेत्रमै थिए । भीषण वर्षाका कारण आएको बाढी–पहिरोले सडकसँगै विद्युत्को प्रसारण लाइन तहसनहस भए । धेरै टावरहरू ढले प्राधिकरणको वितरण प्रणाली ध्वस्त प्रायः भएपछि धेरै घरहरू अन्धकार भए भने सञ्चार सम्पर्क समेत विच्छेद भयो ।
यही संकटका बेला प्राधिकरणको नेतृत्वबाट अधिकारीलाई काठमाडौँ बोलावट भयो । उनी तत्कालै काठमाडौँका हिँडे तर पृथ्वी राजमार्गको नागढुंगास्थित झ्याप्ले खोलामा गएको पहिरोका कारण सडक अवरुद्ध थियो । उनले गाडी घुमाए र हेटौंडा खण्डको सडक हुँदै कुलेखानी निस्किने गरी अगाडि बढे तर १२ गते राति सिस्नेरीको पहिरोमा परे ।
रातको समयमा गाडी र आफ्ना सबै सामान छोडेर भीर–पाखा हिँड्दै असोज १३ गते बिहान काठमाडौँ आइपुगे । उनको काम काठमाडौँमा थिएन । काठमाडौँ आएलगत्तै हेलिकोप्टरमा ऊर्जा राज्यमन्त्री, सचिव र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत्को केन्द्र लामाबगर र खिम्ती पुगे । लगत्तै क्षतिग्रस्त प्रसारण लाइन निरीक्षणका लागि काबेली करिडोर पुगे ।
क्षतिको प्रारम्भिक निरीक्षणपछि टोलीसँगै अधिकारी पनि काठमाडौँ फर्किए । उनी काडमाडौँ फर्किँदा उनको सिस्नेरी पहिरोमा अड्किएको गाडी पनि आइसकको थियो । दुःखद पक्ष, गाडीबाट उनको नगद, ल्यापटपसहितको कपडा र अन्य सामान चोरी भएछन् । उनले त्यसको कुनै प्रवाह गरेनन् ।
बाढी–पहिरोले सडकयात्रा सहज थिएन । दशैं नजिकिएकाले धेरै नेपालीहरू दशैं मनाउन शहरबाट घर फर्किँदै थिए तर अधिकारी भने काठमाडौँ जोड्ने प्रसारण लाइन खिम्ती–लामोसाँघु १३२ केभीको टावर तामाकोसीले बगाएकाले त्यसको आकस्मिक सञ्चालनका लागि एक जना सहयोगी इन्जिनियर लिएर खिम्तीतिर हिँडे । खिम्तीमा पुगेपछि पनि स्थानीयको जग्गाविवाद लगायत कारणले तत्कालै काम शुरू हुन सकेन । केही दिन जग्गा मिलाउनै लाग्यो । जग्गाधनीको विवाद, दशैंको चाप लगायत कारणले सहमति हुन कात्तिक २ गतेसम्म लाग्यो ।
अधिकारीको नेतृत्वमा तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन टावरको आपतकालीन पुनस्र्थापना प्रणाली (इमर्जेन्सी रेस्टोरेसन सिस्टम ईआरसी) अनुसार काम भयो । साथै, विद्युत्को आपूर्ति पनि नियमित भयो । असोज १९ गते खिम्ती पुगेका अधिकारी कात्तिक १० गते अर्थात् २२ दिनको दिन काठमाडौँ फर्किए । निरन्तर कामको दबाबले गर्दा काठमाडौँभन्दा ५ घण्टा मात्रै टाढा भए पनि उनले महानचाड दशैं विद्युत्कोको टावरमुनी नै मनाउन बाध्य भए ।
हरेक नागरिकमा खुशी पुर्याउन, बिजुलीको उज्यालो प्रवाह गर्नका उनले परिवारभन्दा प्रसारण लाइन सुचारु गर्नु नै आफ्नो खुशी सम्झिए । अधिकारीले दशैं टावरको फेदमा मानेको यो पहिलो पटक भने होइन । ३ वर्षअघि पनि माथिल्लो तामाकोसी जलविद्युत्को आयोजना सञ्चालनमा आएपछि बढी भएको विद्युत्को खपतका लागि होङ्सी सिमेन्टमा विद्युत्को जोड्ने क्रममा लगातार एक महिना काम गर्दा पनि सकिएन । उनले पूर्वी नवलपरासीको दुम्कीबासमै दशैं मनाउनु पर्यो । २ वर्षअघि पनि भारतबाट आयातित विद्युत्को प्रसारण लाइनमा आवद्ध गराउने र सबस्टेसन व्यवस्थापन गरी इनरुवा तथा रुपनी सबस्टेसन चार्ज एवम् विद्युत्को बाइपास गर्दा तिहार परिवारसँग मान्न पाएनन् ।
बाढी–पहिरो जस्ता विपद्जन्य घटनाले प्रसारण लाइनमा हुने क्षतिले कुनै क्षेत्रमा विद्युत्को प्रवाह अवरुद्ध हुँदा अन्धकार हुन्छ । यस्तो विपद्जन्य अवस्थामा विभिन्न अभावका बीच पनि लगातार काम गर्नुपर्दा घरपरिवार, चाडपर्व भन्ने सम्झेर साध्य नहुने अधिकारी बताउँछन् । ‘विद्युत्को काम गर्दा धेरै दिन लाग्छ’ उनी भन्छन्, ‘शुरू भएको काम बीचमै छोड्न हुँदैन, अधुरो कामले सिङ्गै गाउँ र शहर अन्धकार हुन्छन् ।’
अनि बन्यो इआरएस टावर
स्थायी रूपमा यो प्रसारण लाइन मर्मत गर्न करिब एक वर्ष लाग्ने भएपछि प्राधिकरणले ईआरएस प्रणालीबाट टावर बनाई तत्कालका लागि सञ्चालनमा ल्यायो । यसको सञ्चालनपछि काठमाडौँ उपत्यकामा थप २ सय मेगावाट विद्युत्को आपूर्ति नियमित हुन्छ । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४ वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुग्यो । टावर बगाएपछि करिब २ सय मेगावाट विद्युत्को प्रवाह हुने उक्त लाइन असोज १३ गतेबाट बन्द थियो । यही कारण काठमाडौँ उपत्यकामा हिउँदमा लोडसेडिङ हुने सम्भावना थियो तर टावर सञ्चालनमा आएसँगै त्यो संकट टरेको छ ।
सुन्दा अचम्म लाग्छ, एउटा टावर न हो भन्ने तर त्यही टावरका कारण राजधानीमा लोडसेडिङ हुने र दैनिक करोडौं रुपैयाँको विद्युत्को खेर जानबाट जोगिएको छ । अधिकारी पेशाले सिभिल इन्जिनियर हुन् तर प्रसारण लाइनमा काम गर्दै जाँदा अहिले इलेक्ट्रिकल भन्दा पनि अब्बल टावर इन्जिनियरको रूपमा परिचित छन् । त्यसमा पनि टावर डिजाइनमा प्राधिकरणभित्रका एकमात्र विज्ञका रूपमा परिचित छन् । अधिकारीको जिम्मेवारी प्रसारण लाइन निर्माणकै लागि अन्यत्र भए पनि आकस्मिकरूपमा प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा प्राधिकरणले अधिकारीलाई नै खटाउँदै आएको छ ।
यस्तो हुन्छ ईआरएस टावर
ईआरएस एक अस्थायी टावर हो । स्थायी टावर निर्माणका लागि जग्गा प्राप्ति, डिजाइन लगायत लामो प्रक्रिया लाग्ने भएकाले तत्कालै प्रसारण लाइन सञ्चालन गर्न क्यानडाबाट भित्र्याएको प्रविधि हो । यसको सफ्टवेयरसमेत छुट्टै हुन्छ । यो टावर १३२ केभीदेखि ४ सय केभीसम्मको प्रसारण लाइनमा काम लाग्छ ।
यो टावर ५१ मिटर अग्लोसम्म बनाउन सकिने यसको निर्माणमा खटिएका बलभद्र अधिकारीले बताए । यो नेपालमा पहिलो पटक २०७३ सालमा १० वटा र पछि थप ६ वटा गरी १६ वटा ल्याइएको थियो । स्थायी टावर निर्माण भएपछि यसलाई झिकेर अन्यत्र लैजान मिल्छ । यसमा जग खन्नु नपर्ने भएकाले छिटो हुने उनको भनाइ छ । उनका अनुसार कुनै समस्या नभए एक हप्ताभित्र टावर ठड्याएर प्रसारण लाइन सुचारु गर्न सकिन्छ ।
प्राधिकरणले खिम्ती–लामोसाँघु प्रसारण लाइन सुचारु गरेपछि अधिकारीकै टिम काबेली प्रसारण लाइनका लागि खटिँदै छ । काबेली र खिम्ती प्रसारण लाइन असोज १२ र १३ गतेको अविरल वर्षाका कारण क्षति भएको थियो । काबेलीमा पनि स्थायी संरचना नबन्दासम्म ईआरएस टावर निर्माण गरेरै प्रसारण लाइन सुचारु गर्ने योजना छ ।
असोज १२ गते काबेली खोलामा आएको बाढीले काबेली करिडोरका ३ वटा टावरमा क्षति पुर्यायो । त्यसको पुनर्निर्माण गर्न पनि प्राधिकरणले अधिकारीलाई नै पठाउने तयारी गरे पनि निजी क्षेत्रका जलविद्युत्को प्रवद्र्धकहरू आफैं जुटेका छन् । त्यसका लागि अधिकारीले फोनबाटै प्राविधिक समस्या सल्टाइरहेका छन् ।
आपतकालीन जनशक्ति किन छैनन् ?
प्राधिकरणमा विपद्को समयमा ईआरएस टावर निर्माण गर्ने एकमात्र अधिकारीसँग खिम्तीमा ३ जना सहयोगी छन् । उनले प्राधिकरणका ६० जना इन्जिनियरलाई तालिम दिए पनि निर्माण क्षेत्रमा निस्केका छैनन् । अधिकारीका अनुसार आपतकालीन अवस्थामा काम गर्नु भनेको ज्यान नै जोखिममा राख्नु हो । यस्तो अवस्थामा सबैले जोखिम लिन सक्दैनन् । आपतकालीन अवस्था भन्ने बित्तिकै खाने–बस्नेको समेत टुङ्गो हुँदैन । उतिकै सुरक्षा सावधानी अपनाउनुपर्ने हुन्छ ।
प्राधिकरणमा आपतकालीन अवस्थामा काम गर्नका लागि सुरक्षा सामग्रीहरू असाध्यै थोरै छन् । विगतमा पनि थिएनन्, अहिले केही थप हुँदैछन् । अर्को, प्राधिकरणले दिने सेवा सुविधा पनि सामान्य अवस्थाकै छ । सामान्य परिस्थितिमा जुन सेवा छ, अतिरिक्त समयमा पनि त्यो भन्दा बढी नरहेको अधिकारी बताउँछन् । प्राधिकरणले केही कानुन संशोधन गर्दै गरेको हुँदा बिस्तारै त्यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।