विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको शीतलपाटीमा प्रस्तावित २२० केभी सबस्टेसनमा जोडिने गरी करिब ४ सय ५  मेगावाटका जलविद्युत आयोजना अघि बढेका छन् । यो सबस्टेसनमा जोडिने गरी संखुवासभा र भोजपुरका विभिन्न नदी तथा खोलामा १५ जलविद्युत आयोजना अघि बढेका हुन् ।

यो सबस्टेसनमा जोडिने गरी निजी लगानीमा अघि बढेका जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । १२०.११ मेगावाटका आयोजना निर्माणामा गइसकेका छन् । केही नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्न पालो कुरेर बसेका छन् भने केही वित्तीय स्रोत जुटाउँदै छन् ।

अहिले ९७.२० मेगावाटको इसुवा खोला, १४.१५ मेगावाटको तल्लो इर्खुवा र ८.७६ मेगावाटको चिर्खुवा (४.७/४.०६ मेगावाट) आयोजना निर्माणाधीन छन् । इसुवा खोला केबिएनआर इसुवा पावर कम्पनीले अघि बढाएको हो । यो आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । कूल १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकले गरेको लगानी ८० प्रतिशत हो । 

अनुमानित लागतमा आयोजना सम्पन्न हुँदा प्रतिमेगावाट लागत १० करोड २९ लाख खर्च हुनेछ । अर्धजलाशय यो आयोजनाबाट वार्षिक ६ सय ४८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट २०८० सालको अन्त्यसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।

लोवर इर्खुवा खोला हाइड्रो पावर कम्पनीले अघि बढाएको तल्लो इर्खुवा खोलाको करिब २० प्रतिशत निर्माण पूरा भइसकेको छ । अहिले आयोजनाको मुख्य सुरुङमा धमाधम काम भइरहेको छ । मुख्य सुरुङ ३५ प्रतिशत खनेर सकिएको कम्पनीले जनाएको छ ।

यो आयोजनाबाट २०७९ साउनदेखि विद्युत उत्पादन गर्ने तालिका छ । सुरुमा यो आयोजनाको विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार सबस्टेसनमा जोडिने गरी प्राधिकरणसँग प्रसारण सम्झौता भएको थियो । तर, तुम्लिङटार विमानस्थल जनिकैबाट सबस्टेसनसम्मको प्रसारण लाइन निर्माण गर्न नसकिने भएपछि अब शीतलपाटी सबस्टेसनमा जोडिने भएको छ ।

२ अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना सम्पन्न भएपछि वार्षिक ८ करोड युनिट विद्युत उत्पादन हुनेछ । 
चिर्खुवा हाइड्रो पावर कम्पनीले एकसाथ २ आयोजना निर्माण गरिरहेको छ । ४.७ मेगावाटको माथिल्लो चिर्खुवा र ४.०६ मेगावाटको तल्लो चिर्खुवा आयोजना निर्माणाधीन छन् । 

यस्तै, ४५ मेगावाटको कसुवा जलविद्युत आयोजना निर्माणमा जाने तयारीमा छ । यो आयोजना कसुवा खोला हाइड्रो पावर कम्पनीले अघि बढाएको हो । यो आयोजनाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइसकेको छ ।

संखुवासभाको कसुवाखोलामा निर्माण हुने यो आयोजनाको ६ महिना हिउँदयाम र ६ महिना बर्खायामको दर पाउने गरी पिपिए भइसकेको छ । आयोजनाबाट २०८२ साल साउनदेखि विद्युत उत्पादन गर्ने तालिका छ । आयोजना सम्पन्न भएपछि वार्षिक २५८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

४ मेगावाटको फेदीखोला आयोजना पिपिए सम्पन्न भई वित्तीय स्रोत जुटाउने प्रक्रियामा छ । वित्तीय स्रोत जुटेपछि आयोजनाको संरचना निर्माणको काम सुरु हुनेछ ।

३७.७ मेगावाटको इसुवाखोला क्यासकेड आयोजना पनि पिपिए सम्पन्न गरेर निर्माणमा जाने तयारीमा छ । यो इसुवा खोलाको क्यासकेड आयोजना हो । इसुवा इनर्जी कम्पनीले आयोजना अघि बढाएको हो ।

साढे १४ मेगावाटो माथिल्लो इर्खुवा आयोजना निर्माणमा जाने तयारीमा छ । आरती पावर कम्पनीले यो आयोजनाको निर्माण सुरु गर्न लागेको हो । २०७८ बैशाखभित्र बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाएर मंसिरदेखि संरचना निर्माणको काम सुरु गरिने भएको छ ।

यो आयोजनाको पिपिए भइसकेको छ । आयोजनाबाट २०८० सालभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भएपछि वार्षिक ९० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

अर्को ४५ मेगावाटको अप्सुवा जलविद्युत आयोजना उद्योगी पवन गोल्यानले अघि बढाएका छन् । यो आयोजनाले  अहिले विद्युत प्राधिकरणसँग पिपिए गर्न पालो कुरिरहेको छ ।

४० मेगावाटको माथिल्लो संखुवा पनि शीतलपाटी सबस्टेसनमा जोडिने आयोजना हो । ह्याप्पी इनर्जी कम्पनीले अघि बढाएको यो आयोजनासमेत पिपिएको लाइनमा छ । २० मेगावाटको माथिल्लो अप्सुवा र १३ मेगावाटको सिसुवा पनि पिपिए गर्ने लाइनमा छन् । 

१५.५२ मेगावाटको इर्खुवा ‘बी’ र १४.१ मेगावाटको इखुर्वा खोला ‘क’ पनि निर्माणमा जाँदैछन् ।

४१ मेगावाटको तल्लो संखुवा अहिले अध्ययनको चरणमा छ । यो आयोजनाको वातावरणीय अध्ययन भइरहेको छ । यो आयोजना सरकारको बास्केटबाट निजी क्षेत्रले लिएर निर्माण अघि बढाउन लागेको हो । संखुवा बेसिनमै सरकारको बास्केटमा रहेको मध्य संखुवा पनि अहिले अध्ययनको चरणमा छ । 

यी सबै आयोजनाको विद्युत प्रस्तावित शीतलपाटी सबस्टेसनमा जोडिनेछ । यो सबस्टेसनमा जोडिएको विद्युत शीतलपाटी–तुम्लिङटार प्रसारण लाइन हुँदै २२० केभी कोसी कोरिडोरको तुम्लिङटार सबस्टेसनमा पुर्याइनेछ । प्रस्तावित प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि अहिले अध्ययन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit