विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले नौमुरे बहुउद्देश्यीय डाइभर्सन आयोजना विकासको प्रक्रिया अघि बढाउने भएको छ । २८१ मेगावाट विद्युत उत्पादन गर्ने र दाङ, बाँके र कपिलवस्तु गरी ३ जिल्लाका ८३ हजार हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजना विकास गर्न लागिएकाे हाे । विशेष गरी सिँचाइ सुविधा विस्तार गर्ने र सँगै बिजुलीसमेत उत्पादन गर्ने लक्ष्यका साथ सरकारले यो आयोजना विकास गर्न लागेको हो । दशकौँदेखि चर्चामा रहेको सो आयोजनाको सम्पूर्ण अध्ययन कार्य पूरा भएको छ । 

कृषिको आधुनिकीकरण गर्ने र आत्मनिर्भरताका लागि बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने सरकारको दीर्घकालीन लक्ष्यलाई समेत मद्दत गर्नेछ । विद्युत् उत्पादनका अलावा, वातावरणको संरक्षण, बाढी नियन्त्रण, पर्यटन विकास, सिँचाइ, मत्स्यपालनलगायतका सुविधा विस्तारका लागि सो आयोजना महत्वपूर्ण हुने विश्वास लिइएको छ । अध्ययनअनुसार आयोजना निर्माणका लागि ६ वर्ष लाग्नेछ । रोल्पाबाट प्यूठान भएर बगेर आउने माडी र झिमरुक नदी मिसिएपछि बन्ने राप्ती नदीको पानी उपयोग गरेर नौमुरे आयोजना अगाडि बढाउने तयारी छ ।

२०७४ देखि सम्भाव्यता अध्ययन सुरु भए पनि लामो समय लगाएर २०७८ मा सम्पन्न भएको हो । आर्थिक वर्ष २०७७/७८ को अनुमान अनुसार आयोजनाको कूल अनुमानित लागत १ खर्ब २६ अर्ब रुपैयाँ बराबर रहनेछ ।

परियोजनामा ३ वटा जलविद्युत्‌गृहबाट २८१ मेगावाट विद्युत् उत्पादन हुने  गरी योजना अघि बढाइएको छ । नौमुरेबाट २१८.३ मेगावाट, लामातालबाट ८ मेगावाट र सुनाइनाबाट ५४.७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य  छ ।

नौमुरे बहुउद्देश्यीय आयोजनाका प्रमुख वीरबहादुर बोहोराका अनुसार कपिलवस्तु जिल्लामा मात्रै २९ हजार ७३६ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । देशमा उपलब्ध जलस्रोतको सदुपयोग गरी हरित ऊर्जा र प्रभावकारी सिँचाइ प्रणालीबाट समृद्ध नेपालको आधारशिला तयार गर्ने नौमुरे बहुउद्देश्यीय आयोजनाको खास उद्देश्य रहेको उनको भनाइ छ ।

नौमुरेकाे मुख्य बाँधस्थल माडी र झिमरुक खोलाको सङ्गमबाट करिब ३ किलोमिटर तल प्यूठान र अर्घाखाँची जिल्लाको भूभागमा रहने गरी प्रस्ताव गरिएको छ । लामाताल रिरेगुलेटिङ बाँधस्थल प्युठान र अर्घाखाँची जिल्लाको भूभागमा र नौमुरे मुख्य बाँधको करिब ६ किलोमिटर तलतिर अवस्थित छ । कूल १५४ क्युविक मिटर/सेकेन्ड डिस्चार्ज सहितको नौमुरे जलविद्युत् योजना माथिल्लो भागमा छ । यसको तल्लो तहमा लामाताल जलविद्युत् योजना छ ।

लामाताल जलविद्युत् योजनाको ब्यारेजले बाँके र देउखुरीका विद्यमान सिँचाइ आयोजनाका लागि राप्ती नदीमा छोड्ने पानीको प्रवाहलाई पुनः नियमन गर्छ । सुनाइनाका जलविद्युत् योजना र प्रस्तावित कपिलवस्तु सिँचाइ आयोजनाको २९ हजार ७३६ हेक्टर सिँचाइका लागि ४१.६  क्युविक मिटर प्रतिसेकेन्डको डिस्चार्ज पथान्तरण गरिनेछ ।

सुनाइनाका बाँधस्थल कपिलवस्तु जिल्लाको सुरैनाका गाउँमा, सुरै नाला (खोला) को दाहिने किनारमा पूर्व–पश्चिम राजमार्गको पश्चिमतर्फ प्रस्ताव गरिएको छ । यसबाहेक, लामाताल ब्यारेजको करिब २२ किलोमिटर तल प्रगन्ना र बड्कापथ सिँचाइ आयोजनाको इन्टेक रहनेछन् भने सिक्टा सिँचाइ आयोजनाको बाँधस्थल करिब १२६ किलोमिटर तल पर्दछ ।

नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत प्रस्तावित कपिलवस्तु सिँचाइ प्रणालीबाट २९ हजार ७३६ हेक्टरसहित देखुरी उपत्यका १० हजार ८०० हेक्टर र बाँकेको ४२ हजार ७६६ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । 

सरकारले चालु आवमा सो आयोजनाका लागि ६ करोड ४३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । झण्डै ३ दशकदेखि चर्चाको केन्द्रमा रहेको सो आयोजना आफैँमा महत्वपूर्ण र विशिष्ट प्रकारको रहेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका जनसम्पर्क सल्लाहकार तिलकराज भण्डारीको कथन छ ।

आधुनिक एवं आत्मनिर्भर कृषिका लागि वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध गराउने र बिजुली पनि उत्पादन गर्ने लक्ष्यका साथ सरकारले यो आयोजनालाई विशेष प्राथमिकतामा राखेको जनसम्पर्क सल्लाहकार भण्डारीले जानकारी दिए । स्थानीयवासीको मागअनुसार आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा समेत विशेष सम्बोधन गर्ने तयारी भइरहेको बताए ।

२०४५ मा सो आयोजनाको प्रारम्भिक अध्ययन भएको थियो । लामो अलमलपछि सरकारले २०७४ सालदेखि आन्तरिक स्रोतबाटै आयोजनाको अध्ययन गरेको हो । आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा नै नौमुरे आयोजनाको विषय समावेश गरिएको थियो । आयोजनाको वातावरणीय अध्ययन र विस्तृत अध्ययन पूरा भएको छ ।

आयोजनाबाट लुम्बिनी प्रदेशका झण्डै ४० लाख मानिस प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । आयोजना प्रमुख बोहोराका अनुसार सितखोला पुलको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । बजेट स्रोत सुनिश्चित भएमा आगामी आवमा निर्माण कार्य थालनी गर्न सकिने जनाइएकाे छ । 

अध्ययन प्रतिवेदनअनुसार नौमुरे आयोजना निकै सस्तो र बहुउपयोगी आयोजना हो । आयोजनास्थलको दुवैतर्फ कडा चट्टान र साँघुरो गल्छी भएकाले पनि बाँध निर्माण असाध्यै सजिलो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३