विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ४५६ मेगावाटको माथिल्लो तामोकोसी जलविद्युत् केन्द्रबाट आगामी पुस १० गतेदेखि विद्युत् उत्पादन सुचारु गरिने भएको छ । यसका लागि केन्द्रका क्षतिग्रस्त संरचनाको मर्मतसम्भारको कार्यकालिका निर्माण गरिएको हो । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो । 

दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सकेर विद्युत् उत्पादन शुरू गर्ने गरी मर्मत तालिका निर्माण गरिएको हो । यसका लागि आंशिक क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने केन्द्रले जनाएको छ । यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइने केन्द्रको भनाइ छ ।

दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने छ । यो काम आगामी वर्षायाम शुरू हुनुअघि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्षसमेत रहेका भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो । 

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन शुरू गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मत सम्भार सम्पन्न गर्नेगरी समय तालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । 

हिउँदयामा विद्युतगृह चलाउन नसके आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिटो विद्युत्गृहलाई सञ्चालनमा ल्याउन अपनाउनु पर्ने उपायहरू तय गर्न स्थलगत अनुमगनमा गएको हो ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे ।

‘आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय)को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमासमेत आयात गर्न अनुमति पाएका छैनौँ, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ,’ घिसिङले भने ।

‘दायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी वर्षायाम शुरू हुनुभन्दा पहिले नै सक्ने गरी काम अगाडि बढाऔँ, त्यसो गर्न सकिएन भने उत्पादन गर्न नससी वर्षायाममा विद्युत् खेर फाल्नुपर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर मर्मत सम्भारमा लागौँ ।’

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) हरू खुला गरिएको थियो, जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो ।

कम्पनीका सीईओ मोहनप्रसाद गौतमले मर्मत सम्भारका हरसम्भव उपायहरू अबलम्बन गरी तय गरेको तालिका बमोजिम विद्युत् उत्पादन शुरू गर्ने गरी काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३