काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस्थापन गरेर अन्धकार हटाएको भन्दै प्रशंसा गरेका छन् । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपालको ८औँ साधारणसभामा बोल्दै मन्त्री खड्काले समाजको यो योगदानलाई सरकारले निरन्तर सहयोग गर्दै आएको र अझ व्यावसायिक ढंगले अघि बढाउन आवश्यक रहेको बताए ।
उनले विशेषगरी कुना–कन्दरासम्म, अप्ठेरा र दुर्गम भूगोलमा विद्युत् पुर्याउने कार्यलाई असाधारण उपलब्धि ठहर गर्दै समाजका गतिविधिहरूको प्रशंसा गरे । हाल देशभर करिब दुई हजार संघ–संस्था तथा व्यक्तिहरू संलग्न रही ४० मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन भइरहेको जानकारी पनि उनले दिए ।
मन्त्री खड्काले अप्ठ्यारो भूगोलमा विद्युत् पुर्याउनाले सामाजिक–आर्थिक रुपान्तरणमा ठूलो योगदान पुगेको उल्लेख गर्दै, अब यसलाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य हुने धारणा व्यक्त गरे ।
‘ऋणलाई अनुदानजस्तो ठानेर वितरण गर्दा आर्थिक अनुशासनमा समस्या आउँछ, उनले भने, ‘त्यसैले संस्थाहरूलाई व्यावसायिक मोडेलमा अघि बढाउन जरुरी छ ।’
सरकारले राष्ट्रिय प्रसारण ग्रीडलाई प्रत्येक स्थानीय तहसम्म पुर्याउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको स्मरण गर्दै उनले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको र त्यसतर्फ सरकार अक्रामक ढंगले अघि बढिरहेको जानकारी दिए ।
ऊर्जा क्षेत्रमा पछिल्ला वर्षमा नीतिगत सुधार भएका कारण दिगो र पारदर्शी प्रणालीतर्फ सरकार अघि बढिरहेको बताउँदै उनले सुशासन कायम गर्न सरकारले आक्रमक रूपमा काम गरिरहेको पनि उल्लेख गरे ।
समाजका अध्यक्ष नारायणध्वज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र (एइपिसी) का कार्यकारी निर्देशक नवराज ढकाललगायत विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । सभामा वक्ताहरूले लघु तथा साना जलविद्युत् क्षेत्रले ग्रामीण जीवनस्तरमा ल्याएको परिवर्तन र यसलाई दिगो बनाउन आवश्यक रहेको विचार व्यक्त गरेका थिए ।