काठमाडौँ । नेपाल पोर्टफोलियो इनर्जी प्रालिले निर्माणका लागि प्रस्ताव गरेको ११०.२० मेगावाटको अपर चुवा लुरुप्पा आंशिक जलाशय (पिआरओआर) आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन सार्वजनिक गरिएको छ । हुम्लाको सिमकोट गाँउपालिका–१ र खार्पुनाथ–५ मा निर्माणका लागि प्रस्तावित उक्त आयोजनाको इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले राय–सुझावका लागि सार्वजनिक गरेको हाे ।
इआइए अनुसार अयोजनाले चुवाखोला र लुरुप्पा खोलाको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्ने छ । आयोजनाको हेडवर्क्स, बाँध, सुरुङ, हेडरेस पाइप तथा सर्ज साफ्ट लगायत सम्पूर्ण संरचना दुवै खोलाको दायाँ र बायाँ निर्माण हुनेछन् । आयोजनाको विद्युत् गृह सिमकोट–१ मुग्रिकमा निर्माण गरिने छ ।
आयोजनाबाट वार्षिक ६१७.२८ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने छ । आयोजनाको ग्रस हेड ३९४.१० मिटर रहने भने बाँधको लम्बाइ ८० मिटर र जलाशयको क्षमता ७३८३०४.६ घन मिटर रहने छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, प्रभावित जिल्लाका जिल्ला समन्वय समितिको कार्यालय, प्रभावित जिल्लाका गाँउपालिकाका स्थानमा आयोजनाको इआइए प्रतिवेदन राखिएकाले उक्त पत्रको उतार गरी अध्ययन गरेर ७ दिनभित्र राय–सुझाव दिन सरोकारवाला सबैलाई आह्वान गर्दै मन्त्रालयले आइतबार सूचना जारी गरेको छ ।
आयोजनााकाे अनुमानित लागत २२ अर्ब ९९ करोड ४५ लाख ४७ हजार ८ सय ७ रहेकाे छ ।