काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले आफ्नो विदेश भ्रमणमा सरकारको एक सुका (पच्चिस पैसा/रुपैयाँको एक चौथाई) पनि खर्च नभएको बताएका छन् । आफ्नो कार्य क्षेत्र, कूटनीतिक परामर्श तथा वैदेशिक सभा सम्मेलनमा सहभागी भएका गतिविधिसँग जोडेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उनले सामाजिक सञ्जालमा प्रस्टीकरण दिएका हुन् ।
मन्त्रालयमा आफू आएपछि विभिन्न कार्यक्रमको सिलसिलामा दुई पटक भारत तथा एक पटक थाइल्याण्ड गएको र यी तीन वटै भ्रमणमा आफ्नो सबै खर्च आयोजकले नै व्यहोरेको उनले खुलाएका छन् । आफ्नो भ्रमणमा भएको खर्च प्राधिकरणलाई भराउन दबाब दिइएको भन्दै भ्रम फैलाउन खोजिएकोले त्यस्तो भ्रममा नपर्न पनि उनले सबैलाई अपिल गरेका छन् ।
अधिकारीले सामाजिक सञ्जाल (फेसबुक) मा राखेकाे प्रस्टीकरण जस्ताकाे तस्तै तल राखिएको छः
सम्पूर्ण फेसबुक मित्रहरू र मिडियाका मित्रहरू,
नेपालखबरले माननीय मन्त्रीज्यूका साथ फेब्रुअरी महिनामा ईन्डिया एनर्जी वीक 2025 मा भाग लिन भारतको नयाँ दिल्ली जादा भएको खर्च नेपाल विद्युत् प्राधिकरणबाट भराउन दबाब दिएको र मन्त्रीको एकल निर्णय गरी प्राधिकरणमा भ्रमण खर्च उपलब्ध गराउन पत्र पठाएको समाचार मेरो फोटो नै राखेर प्रकाशित गरेकोमा यस्तो झुठ, कपोल्कल्पित कुरा किन र के प्रायोजित उद्देश्यले प्रकाशित गरिएको हो, त्यस्ले अनावश्यक भ्रम फैलाउने काम गरेको छ ।
यसमा निम्न विषय जानकारी ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु ः
१. उक्त कायक्रममा सहभगी हुदा आयोजकले नै प्लेन टिकट लगायतको सम्पूर्ण खर्च व्यहोरेकोले प्राधिकरणबाट वा मन्त्रालय काहीं कतैबाट पैसा माग्ने / भराउने कुरै भएन ।
२. मैले मन्त्रालयमा आएदेखि जम्मा तीनपटक बिदेश भ्रमण गएको (International Solar Aliance को कार्यक्रममा भारत, UN सम्बन्धि UFO को कार्यक्रममा बैंकक र अहिले भारत गएको प्रसङ्ग) मा तीन वटै भ्रमणको एकसुका खर्च पनि नेपाल सरकार वा प्राधिकरण जस्ता कुनै पनि निकायले नव्यहोरेको, व्यहोर्नु नपर्ने, व्यहोर्न अनुरोध नगरिएको र मैले TADA दाबी गर्नुपर्ने अवस्था नै नरहेको व्यहोरा अनुरोध गर्दछु ।
३. नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग जोडेर जो लेखिएको छ, यदाकदा गलत लेखेर भ्रम फैलाउने काम गरिने गरिएको छ, त्यो विषयमा कुनै सत्यता नरहेकोले थप लेखिरहनु परेन भन्ने लाग्छ ।
४. समाचार लेख्दा, सोसल मिडिया प्रयोग गर्दा प्रदुषण फैलाउने काम रोक्नु चाहीँ सबैको हितमा हुनेछ ।
स्ट्याटस लेखेर हजुरहरूको समय लिएकोमा Thankful छु ।
उक्त समाचारको सानो हिस्सा यसै साथ राखिदिएको छु ।