काठमाडौँ । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङचआरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर विद्युतीय भ्यान (इभी) भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रूपमा आरजेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्रिएका हुन् ।
एक कार्यक्रमका बिच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जयकुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेशकुमार राठी र शाङचआरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले सहकार्यको घोषणा गरे ।
उक्त अवसरमा आरजेएम अटो नेपालका सिइओ मनोज खतिवडाले आरजेडएम ब्रान्ड नेपाल भित्र्याउनुका कारण र यसका फिचरबारे चर्चा गरेका थिए भने नेसनल मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर मनोजबिक्रम शाहले नेसनल मोटर्स र एसएमएल इसुजुको इतिहास तथा हालको अवस्थाबारे बोल्दै नयाँ आरजेडएम ब्रान्ड थपगरिएको बारे चर्चा गरे । सो अवसरमा नयाँ ग्राहकलाई गाडीको साँचो समेत हस्तान्तरण गरिएको थियो ।
ईफाइभ (ई५) सिरिजको १५ सिटर इभी भ्यानमा ५३.५८ किलोवाट आवरको सिएटिएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा जस्तोसुकै सडकमा पनि औसतमा २५० किलोमिटरको रेन्ज दिने प्रमाणित भएको छ । समतल सडकमा भने यसले ३०० किलोमिटर भन्दा बढी रेन्ज दिएको पाइन्छ । डब्लुएलटिपी अनुसार यसको रेन्ज ३०० किलोमिटर छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । यसको पिकपावर १०० किलोवाट र रेटेड पावर ५० किलोवाट छ भने ३०० एनएमको टर्क छ ।
त्यसैगरी, १६ सिटर आरफाइभ (आर५) मोडलमा अझै फराकिलो बडी सहितको संरचना छ । यसमा ७७.२८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ । जसले सिंगल चार्जमा ३६६ किलोमिटर (डब्लुएलटिपी) रेन्ज दिने दावी गरिएको छ । यसमा १२० किलोवाटको पिकपावर दिने मोटर भएकाले उकाली–ओरालीमा सहजताका साथ जान्छ । यसको रेटेड पावर ६० किलोवाट छ भने टर्क ३५० एनएम रहेको जानकारी गरिएको छ ।
कम्पनीका अनुसार नयाँ प्रविधिको ६० किलोवाटको चार्जर प्रयोग गरी यी गाडीलाई ४५ मिनेटमै चार्ज गर्न सकिन्छ । पोखरादेखि काठमाडौँसम्म गरिएको परीक्षणमा यसले फुलचार्ज गर्दा ५१ प्रतिशतचार्ज बाँकी भएकै अवस्थामा पोखरा पुगेको बताएको छ । १८० एमएमभन्दा धेरै ग्राउन्ड क्लियरेन्ससहितका विशेषता भएको यो इभी भ्यान लक्जरियस समेत भएकाले लामो यात्राका लागि उपयोगी हुन्छ ।
नेपाली सडकमा पहिले नै परीक्षण र सुधार गरेर उत्कृष्टता दिने प्रयास गरिएको कम्पनीको भनाइ छ । यी गाडीका सिट लेआउट र अन्य संरचना समेत नेपाली सडक सुहाउँदो बनाइएको छ । हाल जेड४, आर४, आर५, आर६ र के सिरिजमा विशेष गरी बिजनेस, टुरिजम, प्यासेन्जर ट्रान्सपोर्ट र स्पेसल भेइकल मार्केटका लागि उपयुक्त सवारी साधन कम्पनीले उत्पादन गरिरहेको छ ।
चीनको जियाङसुमा अवस्थित दुई प्लान्टमार्फत विश्वका २३ देशमा आरजेडएम ब्रान्डका सवारी साधन बिक्री–वितरण भइरहेका छन् । यसैगरी ५ देशमा एसेम्बली र सिकेडी प्लान्ट रहेको छ । शाङचआरजेडएम अटो सन् २०१६ माचीनको स्टक एक्सचेन्जमा सूचीकृत भएको शतप्रतिशत सरकारी स्वामित्वको कम्पनी हो । यसका कारण पनि कम्पनीको भविष्यमा कुनै शंका गर्नुपर्ने अवस्था नभएको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा करिब ३८ वर्ष पहिले सन् १९८७ देखि तत्कालीन स्वराज माज्दा ब्रान्डका सवारी साधनमार्फत अटो मोबाइल व्यवसायमा प्रवेश गरेको नेसनल मोटर्सले हाल एसएमएल इसुजुका कमर्सियल सवारी साधन र अन्य अटोमोबाइल सम्बद्ध सामग्री बिक्री–वितरण गरिरहेको छ । स्कुल, कर्पोरेट क्षेत्र र फ्लिट ग्रूपहरूमा हाल यो ग्रूपले हजाराैँ सवारी साधन बिक्री गरिसकेको छ ।
हाल नेसनल मोटर्सका नेपालभर १२ भन्दा धेरै स्थानमा सर्भिस नेटवर्क उपलब्ध छ । अब आरजेडएमका लागि सर्भिस तालिम उपलब्ध गराउने र पार्ट्स ल्याउने कार्य समेत अगाडि बढेकोले ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराउन कुनै समस्या नहुने दाबी गरिएको छ ।
ई५ को मूल्य ५४ लाख २५ हजार रुपैयाँ तोकिएको छ भने आर५ को मूल्य ७३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।