विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सरकारबाट बाहिरिने मनस्थिति बनाएको विश्वस्त स्रोतले बताएको छ । सुदन गुरुङलगायत केही सुनिएका व्यक्ति मिलेर नयाँ राजनीतिक पार्टी खोल्ने चर्चालाई बल पुग्ने गरी उनले राजीनामा दिने मनस्थिति बनाएकाे दाबी गरिएको छ ।

घिसिङ केही दिनभित्रै राजीनामा दिने मनस्थितिमा रहेको मन्त्रालयकै एक अधिकारीले दाबी गरेका छन् । उनका अनुसार उनले नयाँ राजनीतिक दलमा आबद्ध भई आगामी संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीका लागि राजीनामा दिने मनस्थिति बनाएका हुन् । पहिला पदबाट राजीनामा दिने र घोषणा सभा वा पत्रकार सम्मेलनकै आयोजना गरी राजनीतिक दल वा दलीय आबद्धता घोषणा गर्ने तयारीमा उनी लागेको बताइएको छ ।

अघिल्लो केपी ओली नेतृत्वको सरकारले २०८१ सालको अन्त्यतिर अर्थात् चैत १२ गते नेपाल विद्युत् प्राधिकरणबाट हटाइएपछिदेखि नै घिसिङले २०८४ सालमा हुने चुनावमा भाग लिने गरी ‘उज्यालो नेपाल’ नामको दल दर्ताको तयारी सुरु गरेको चर्चा चलेको थियो । २०८२ असार १८ देखि २९ सम्म उनले ‘उज्यालो नेपाल’ नामको अभियान लिएर खाली मुलुकहरू (युएई, बहराइन, कतार र ओमान) को भ्रमण गरी त्यहाँ रहेका नेपाली (युवाहरू) सँग अन्तरक्रिया र साक्षात्कार समेत गरेका थिए । त्यति बेलादेखि नै उनले जनादेश (म्यान्डेट) पाए राजनीतिक दल खोलेर राजनीतिमा आउने बताउँदै आएका थिए ।

यद्यपि, स्थितिमा उलटफेर आयो । चुनावमार्फत निर्वाचित भई राजनीतिमा आउन २०८४ सम्म कुर्नै नपर्ने भयो । दुई वर्षअघि नै अर्थात् २०८२ मै चुनाव हुने भइदियो । खाडी मुलुकमा रहेका युवामाझ कुलमानले आफ्नो चुनावी माहोल बनाएर नेपाल फर्किएको २ महिना पनि नपुग्दै २०८२ भदौ २३ र २४ गते जने–जेड पुस्ताको नेतृत्वमा आन्दोलन भयो ।

आन्दोलनले ठूलो जनधनको क्षतिसहित केपी ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्‍यो । त्यसपछि राजनीतिक दल र नेतृत्वलाई पाखा लगाउँदै स्वतन्त्र नागरिक सुशीला कार्कीको नेतृत्वमा २०८२ भदौ २७ गते चुनावी सरकार गठन गरियो । यही सरकारमा भदौ २९ गते घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकाससहितका ३ वटा मन्त्रालयको जिम्मेवारी लिएर मन्त्री नियुक्त भएका थिए ।

यद्यपि, निर्वाचित प्रतिनिधिका रूपमा पूर्णकालीन राजनीतिमा आउने र प्रधानमन्त्री पदसम्मको यात्रा तय गर्ने उनको उत्कट चाहना देखिन्छ, जुन ६ महिने सरकारको मनोनित मन्त्री पद त्यागेर चुनावी मैदानमा नहोमिएसम्म पूरा हुने देखिँदैन । त्यसका लागि पनि उनले राजीनामा दिएर निर्वाचनको तयारीमा लाग्ने मनस्थिति बनाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, जेन–जेडका नाममा खुलेका विभिन्न समूहहरू, बालेन्द्र साह, हर्क साम्पाङ जस्ता स्वतन्त्र जनप्रतिनिधिहरूका विभिन्न प्रस्ताव, आम नेपाली युवाको आह्वान र आम नागरिकले आफूप्रति बनाएको सकारात्मक धारणालगायतको बलमा उनी चुनावी मैदान हुँदै राजनीतिमा उदाउने कसरतमा लागेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियरबाट जागिर सुरु गरी करिब ७ वर्ष ८ महिनासम्म कार्यकारी निर्देशक रहेका कुलमानलाई कर्मचारी रहँदा माओवादी पार्टीको शुभचिन्तकका रूपमा हेर्ने गरिन्थ्यो । खुद प्रचण्डले समेत हरेकजसो राजनीतिक मञ्चमा ऊर्जा विकास आफ्नो पार्टीको मात्रै एजेन्डा भएको, प्राधिकरणमा आफूले नै कुलमान जस्ता पात्र ल्याएकोले लोडसेडिङ अन्त्य गर्न सहज भएको भनी प्रचार गर्दै जस लिने र कुलमानलाई दिलाउन प्रयास गरेका थिए ।

यद्यपि, पछिल्लो समय भने प्रचण्डले समेत ‘कुनै एक कर्मचारीका कारण नभई माओवादीकै राजनीतिक इच्छाशक्तिका कारण लोडसेडिङ अन्त्य सम्भव भएको’ अभिव्यक्ति दिएपछि भने माओवादी (खास गरी प्रचण्ड) सँग कुलमानको सम्बन्ध चिसिएको आकलन गरिएको थियो । खासगरी जेन–जेड पुस्ताको आन्दोलनपछि माओवादीसमेत नागरिकस्तरमा निकै आलोचित भएकोले पनि कुलमान माओवादीमा जाने वा माओवादीबाट चुनावमा जाने सम्भावना समाप्त भइसकेको थियो ।

‘रास्वपा जस्ता पार्टीमार्फत राजनीतिमा आउनेभन्दा बढी नयाँ पार्टी खोल्ने सम्भावना छ,’ उनको दाबी छ, ‘कुलमानले कस–कससँग कसरी सहकार्य गर्छन् त्यो निश्चित छैन तर नयाँ दलमार्फत नै राजनीतिमा आउने भन्ने निश्चित जस्तै छ, केही दिनभित्रै औपचारिक रूपमै उनले यसको घोषणा गर्ने छन् ।’

कुलमान घिसिङ आबद्ध हुन सक्ने सम्भावित पार्टी रास्वपा मात्र देखिएको तर अध्यक्ष रवि लामिछाने र कुलमानको पदीय व्यवस्थापन नै जटिल बन्ने भएकाले नयाँ दल खोल्ने सम्भावना नै बढी रहेको उनको भनाइ ओजपूर्ण नै देखिन्छ ।

यसैबीच, कुलमानले आफ्नै नेतृत्वमा नयाँ दल खोल्ने र त्यसमा रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठ, हालसम्म राजनीतिक आबद्धता पुष्टि नभइसकेका काठमाडौँका मेयर बालेन साह, जनजी आन्दोलनपछि राजनीतिक वृत्तमा देखिएका सुदन गुरुङलगायत पनि रहने चर्चा समेत चुलिएको छ ।

जे होस्, आफ्नो राजनीतिक आबद्धता घोषणा गर्न कुलमानलाई किन पनि चटारो छ भने फागुन २१ गतेको निर्वाचन आउन अब जम्माजम्मी ४ महिना मात्र छ । अझ निर्वाचन आयोगले घोषणा गरेको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन आयोगमा दल दर्ताको प्रमाणपत्र लिइसक्ने म्याद कात्तिक ३० गतेसम्म मात्र छ । आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गर्ने हो भने कुलमानलाई निकै चटारिनु पर्ने अवस्था देखिन्छ । अर्कोतिर, सरकारमै रहेर चुनावी प्रतिस्पर्धाको तयारी गर्न उत्तिकै गाह्रो छ । त्यसो हुँदा राजीनामा दिएरै मैदानमा उत्रिने तयारीमा उनी लागेको ती सदस्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३