काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ ।
भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसिसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप कार्यान्वयन हुन सकेमा मात्र विगतका सन्देहहरुको अन्त्य हुने र नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुन सक्ने विचार व्यक्त गरे । कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अघि बढ्न एमसिए नेपाललाई निर्देशन समेत दिए ।
त्यसैगरी प्रमुख कार्याकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसिसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको र यसलाई सफल बनाउन एमसिसी कटिबद्ध रहेको विचार व्यक्त गरिन् ।