विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ २९, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

चर्चामा छाइरहने गज्जबको ‘कुलमान शैली’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गएको फागुन ८ गते ६ महिनाको प्रगतिबारे केही तथ्यांकीय विवरण प्रचारप्रसारमा ल्यायो । जसमा, यस अवधिमा संस्थाले १२.१२ अर्ब रुपैयाँ नाफा कमाएको उल्लेख छ । जबकि, गत वर्ष (आर्थिक वर्ष २०७७/७८) नाफा ६.१० अर्ब रुपैयाँमा खुम्चिन पुगेको थियो ।

प्राधिकरणबाट सधैंजसो प्रयोजितरूपमा बाहिर ल्याइने सूचना/जानकारी शाखाबाट प्रचारमा ल्याइएको तथ्यले आमसर्वसाधारणमा पूर्ण रूपमा भ्रम छरिएको छ । संस्थाले कमाएको नाफाको अंक छ तर के कति कारणले त्यो हासिल भएको हो भन्ने एक शब्द पनि उल्लेख गरिएको छैन । यसो हुनुले फेरि पनि कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सक्षम/काबिल र अरू (विगतका) नेतृत्वलाई नालायक घोषित गर्न खोजेको देखिन्छ ।

कारणसहित नाफा÷घाटाको अंक वा विवरण प्रेस विज्ञप्तिकै रूपमा संस्थागत गरेको भए त्यसको आधिकारिकतामाथि प्रश्न उठाउने ठाउँ रहँदैनथ्यो । तर, सीमित कोठाभित्र घिसिङ आफूले तयार गरेका कतिपय कपोलकल्पित विवरणलाई जोडजाड पारेर प्रचारमा ल्याइयो । जसमा प्राधिकरणका सूचना अधिकारी वा जिम्मेवार पदाधिकारीले प्रमाणीत गरेर हस्ताक्षर गरेका छैनन् ।
अर्कोतिर, गत वर्षको प्रतिकूल अवस्था नहेरी र हासिल हुँदै गएको उपलब्धिको सूची नकेलाइकन नाफाको अंकमात्र जोडेर पुरुषार्थ गरेको देखाउनु आमउपभोक्तालाई झुक्याउनु हो ।

प्रचारमुखी कार्यकारी निर्देशक (कुलमान घिसिङ) ले ‘गत वर्ष एक वर्षमा ६ अर्ब रुपैयाँ नाफा भएको थियो तर मैले ६ महिनामै १२ अर्ब नाफा गरेँ’ भनेर सर्वसाधारणमा भ्रम छर्नु दुर्भाग्य पनि ।

उता, आउने चैत पहिलो साता उनी विरुद्ध यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाई हुँदैछ । मुद्दाको किनारासँगै उनी प्राधिकरणबाट हट्ने निश्चित रहेको सर्वोच्चका अधिकारीहरूको भनाइ छ । यो भनाइलाई सही मान्ने हो भने घिसिङ बाहिरिएपछि ‘मैले ६ महिनामा १२ अर्ब नाफा गरेर छोडेको संस्थामा फेरि बेइमानी भयो’ भन्ने दुष्प्रचार गर्न पनि ती विवरण बाहिर ल्याएको देखिन्छ ।

अन्यथा, हिजोका कुनै वर्षमा पनि प्राधिकरणले ६ महिनामा यसरी प्रचारमुखी विवरण बाहिर ल्याउने गरेको थिएन । अझ आधिकारिक वा प्रमाणित नगरी बाहिर ल्याइएका तथ्यांकमा प्रशस्त शंका गर्ने ठाउँ रहन्छ । प्राधिकरण कति नाफा/घाटा छ ? त्यसको वित्तीय विवरण कति स्वस्थ छ ? त्यहाँ आर्थिक पारदर्शिता के कति कायम गरिएको छ ? यो विषय नियमन गर्नेले हेर्लान् । हिजोको कागजी नाफा र ट्रंक/डेडिकेटेड लाइनको उठ्न बाँकी झन्डै १६ अर्ब रुपैयाँ त्यसै छोडेर घिसिङले आफू प्रचारमुखी बनिरहन खोज्नु संस्थाका लागि दुर्घटना हो ।

गत वर्षको परिदृश्य 

गत वर्ष चरम खडेरी पर्यो । खोला तथा नदी नालामा पानीको सतह सुकेर निकै तल पुगेको थियो । यही कारण, नदी प्रवाही आयोजनाको विद्युत उत्पादन निकै घटेको थियो । १००० हजार मेगावाट प्रणालीमा योगदान पुर्याएको निजी क्षेत्रले करिब २०० मेगावाटमात्र र प्राधिकरणका आयोजनाबाट ४०० मेगावाट उत्पादन भएको थियो ।

जबकि, गत वर्षको अति नै सुख्खा समयमा करिब १५०० मेगावाट उच्च माग हुँदा ८५० मेगावाट विद्युत भारतबाट आयात गरिएको थियो । विद्युत आपूर्तिको मेरुदण्ड मानिएको कुलेखानी जलाशयसमेत सुकेर झन्डै लोडसेडिङ गर्नुपर्ने परिस्थिति उत्पन्न भएको थियो । यद्यपि, त्यतिबेला प्राधिकरणले ठूलो संकट टार्न सफल भयो ।

गत वर्षको तुलनामा यो वर्ष भारतबाट आधा पनि विद्युत किन्नु परेन । महँगोमा भारतबाट किन्ने विद्युतलाई भुक्तानी गर्न नपरेपछि यो सोझै नाफाको अंकमा जोडिन्छ । चालू वर्षमा मौसम अनुकूल रह्यो । असोज कात्तिकसम्म नै झरी परिह्यो । यही कारण नदी प्रवाही आयोजनाबाट हुने विद्युत उत्पादनमा ठूलो उतारचढाव आएन । यही वर्ष सबैभन्दा ठूलो चमत्कार, ४५६ मेगावाटको माथिल्लो तामाकोसी प्रणालीमा जोडिनु नै हो ।

नाफाको रहस्य

मौसम अनुकूल हुनु र माथिल्लो तामाकोसी प्रणालीमा जोडिनुले भारतबाट हुने विद्युत आयात स्वाट्टै घटेको छ । क्षमताकै हिसाब गर्दा गत वर्ष निकै सुख्खा समयमा ८५० मेगावाटसम्म आयात भएकोमा यो वर्ष अहिलेसम्म अधिकतम ४५३ मेगावाटमात्र किनिएको छ । सम्भवतः खरिदको परिमाण अब बढ्दैन ।

क्षमता भन्दा ऊर्जाको हिसाब गर्दा आयात गत वर्षको तुलनामा ४० प्रतिशतमात्र रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरण अर्थ निर्देशनालयका अनुसार गत वर्ष २१.८२ अर्ब रुपैयाँ बराबरको विद्युत भारतबाट किनिएको थियो । यही आधारमा ६ महिनाको विद्युत आयात रकम १०.९१ अर्ब रुपैयाँ हुन आउँछ ।

चालू वर्षको ६ महिना अर्थात् पुससम्म भारतबाट जम्मा २.५८ अर्ब रुपैयाँको विद्युत किनिएको निर्देशनालयका उपकार्यकारी निर्देशक लोकहरि लुइँटेलले जानकारी दिए । यो आधारमा चालू वर्ष गत वर्षको तुलनामा ८.३३ अर्ब रुपैयाँ बराबरको विद्युत किन्नु परेन । यो नै संस्थाका लागि मुख्य र खुद नाफा हो । यो नाफाको हिस्सेदारी पनि तामाकोसी नै हो ।

तामाकोसीको बिजुली अहिलेसम्मको सबै भन्दा सस्तो हो, जुन प्रतियुनिट करिब ४ रुपैयाँमा प्राधिकरणले किन्ने गर्छ । र, प्रतियुनिट ९.८० रुपैयाँमा बेच्छ । अतः यो ६ महिनामा तामाकोसीबाट कति आम्दानी भयो भन्ने विषयलाई पनि गौण राखिएको छ । नाफाको ठूलो र महत्वपूर्ण हिस्सा तामाकोसी नै हो तर यसको योगदानलाई प्रस्टसँग तथ्यांकमा देखाइएको छैन ।

निशुल्क विद्युत

प्राधिकरणले ६ महिनामै यति धेरै नाफा कमाउनुको अर्को कारण निजी क्षेत्रका जलविद्युतगृहबाट प्राप्त हुने निशुल्क ऊर्जा हो । विद्युत खरिद सम्झौता (पिपिए) अनुसार कुनै पनि जलविद्युत आयोजनाले परीक्षण उत्पादन गरेपछि १५ दिन प्राधिकरणलाई निशुल्क विद्युत उपलब्ध गराउनुपर्छ ।

चालू आर्थिक वर्षको हालसम्म माथिल्लो तामाकोसी सहित करिब ६६० मेगावाटका आयोजना प्रणालीमा जोडिएको प्राधिकरण विद्युत व्यापार विभागले जानकारी दिएको छ । उक्त परिमाणको विद्युत १५ दिन निशुल्क प्राप्त गरी ग्राहकलाई प्रतियुनिट ९.८० रुपैयाँमा बिक्री गर्दा करिब २ अर्ब रुपैयाँ सोझै नाफा हुन आउँछ ।

यो ६ महिनामा तामाकोसीको बिजुलीले मात्र नाफाको अंकमा करिब १.२० अर्ब रुपैयाँ योगदान पुर्याएको देखिन्छ । ४५६ मेगावाट ८५ प्रतिशतमात्र १५ दिन निशुल्क उपलब्ध हुँदा १४ करोड युनिट हुन आउँछ । यसमा १५ प्रतिशत प्रसारण चुहावट घटाउँदा करिब १२ करोड युनिट हुन्छ । निशुल्क प्राप्त भएको १२ करोड युनिट बेच्न पाएको सकारात्मक पक्षलाई प्रचारात्मक विषयमा कहीँ कतै उल्लेख गरिएको छैन ।

विद्युत निर्यात

गएको बर्खामा बढी भएको बिजुली भारतीय सीमाका मध्यम भोल्टेजका प्रसारण लाइनबाट निर्यात गरिएको छ । जसको कुनै हिसाब गरिएको छैन । उता गएको बिजुलीको परिमाण हिसाब गरी प्राधिकरणले भारतबाट किनेको विद्युत मूल्यमा घटाउने गरिएको छ । यो विषय ६ महिनामा आउने कुरै रहेन । नाफामा यसको समेत हिस्सा हुन जान्छ ।

साथै, यो वर्षदेखि प्राधिकरणले औपचारिकरूपमा ३९ मेगावाट भारतको एक्सचेन्ज बजारमा निर्यात गरिरहेको छ । विद्युत निर्यातबाट प्राधिकरणलाई कति आम्दानी भयो भन्ने पक्ष पनि प्रचारात्मक विवरणमा उल्लेख छैन । नाफाको अंकमा निर्यात भइरहेको विद्युतबाट हुने आम्दानीको समेत महत्वपूर्ण योगदान रहन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३