विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
तेस्राे देशमा विद्युत् निर्यातकाे ऐतिहासिक सम्झाैता

काठमाडौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने गरी बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) भारतबीच सम्झौता भएको हो । ‘पावर सेल्स एग्रिमेन्ट’ (पीएसए) नाम दिइएको सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मोहम्मद रेजुल करिम र एनभीभीएनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारंगले हस्ताक्षर गरेका छन् ।

नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी–जेएससी) को बुधबार (असोज १६ गते) सम्पन्न छटौँ बैठकले उक्त विद्युत् व्यापारमा त्रिपक्षीय सम्झौता बिहीबार गर्ने टुङ्गो लगाएको थियो । बिहीबार एक समारोहका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भयो ।

सम्झौता अनुसार प्राधिकरणले वर्षायामको ६ महिना (हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म) ५ वर्षसम्म ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ । प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् बिक्री गर्नेछ । नेपालबाट भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले नै तिर्ने व्यवस्था गरिएको छ ।

नेपालले भारतको मुजफ्फरपुरमा विद्युत्‌को मिटर राखेर सोही मिटरअनुसार भारतमा विद्युत् निर्यात गर्ने जनाइएको छ । मुजफ्फरपुर विद्युत् निर्यात गर्दा हुने प्राविधिक नोक्सानी (ट्रान्समिसन लस) प्राधिकरणले व्यहोर्ने उल्लेख छ । त्यस्तै, मुजफ्फरपुरबाट बंगलादेशको सीमासम्म हुने विद्युत्‌को नोक्सानी बंगलादेशी पक्षले व्यहोर्ने पनि जनाइएको छ ।

भारतको बेहरामपुर (भारत)–भेरामेरा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फ नेपालको विद्युत् बंगलादेश पुर्‍याइने छ ।  बंगलादेशमा ५ वर्षसम्म विद्युत् निर्यात गर्न गरिएको यस सम्झौता अनुसार हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुने जानकारी प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले दिए । नेपाल सरकारले करिब १० वर्षभित्र १० हजार मेगावाट भारतलाई र ५ हजार मेगावाट बंगलादेशलाई गरी कूल १५ हजार मेगावाट विद्युत् निर्यात शुरू गर्ने लक्ष्य राखेको छ ।

प्राधिकरणका अनुसार २५ मेगावाटको त्रिशूली, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात हुनेछ । यी आयोजनाले भारतमा विद्युत् निर्यात गर्न स्वीकृति पाइसकेका छन् ।नेपालबाट ४० मेगावाट विद्युत् आयोगत गर्न २०८० मंसिरमै बंगलादेशको मन्त्रिपपरिषद्ले बीपीडीबीलाई स्वीकृति दिइसकेको थियो ।

त्यस्तै, विद्युत् आयात निर्यातको दरबारे २०८० साल फागुनमा प्राधिकरण र बीपीडीबीबीच सहमति भइसकेको थियो । यस वर्षको साउन १३ गते काठमाडौँमा त्रिपक्षीय सम्झौता गर्ने तयारी भएको थियो तर बंगलादेशमा राजनीतिक समीकरण तथा सत्ता परिवर्तन भएसँगै सम्झौता रोकिएको थियो । हाल बनेको अन्तरिम सरकारले सम्झौता अघि बढाउने निर्णय गरेपछि सम्झौता सफल भएको थियो ।

सम्झौता समारोहलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय ऊर्जा सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा सावित भएको बताए । मन्त्री खड्काले नेपालले इतिहासमै पहिलो पटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले आजको कार्यक्रम नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको पनि उल्लेल गरे ।

‘आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बंगलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो,’ मन्त्री खड्काले भने ।

उनले सन् १९७२ देखि नेपाल र बंगलादेशबीचको कुटनीतिक सम्बन्ध भएदेखि सम्बन्ध सुमधुर र प्रगाढ हुँदै आएको समेत उल्लेख गरेका थिए । सार्क सदस्य राष्ट्रको रूपमा बंगलादेशले क्षेत्रीय चासोका विषयमा खेल्दै आएको भूमिका सराहनीय रहेको उनको भनाइ छ । नेपालमा उत्पादित विद्युत् सीमापार प्रसारण लाइनबाट बंगलादेश पुग्नका लागि सहज बनाउन भारत सरकारको अटल एवम् निरन्तर सहयोग रहेको कुरा समेत स्मरण गरेका थिए ।

मन्त्री खड्काले नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने प्रतिबद्धता जनाएको र १५ हजार मेगावाट निर्यातका लागि छुट्याएकाले उक्त कार्यले नेपालको जलविद्युत् क्षमताको उपयोग गर्दै दृढ  संकल्पलाई झल्काएको बताए । उनले बंगलादेश, भुटान, भारत र नेपालमा ग्रीड पूर्वाधार एकीकृत गर्नाले नेपालमा जलविद्युत् विकासलाई गति दिन सकिने बताए ।

कार्यक्रममा बंगलादेशकी ऊर्जा मन्त्री सैयदा रिजवाना हसनले क्षेत्रीय ऊर्जा सहकार्यको यो पहिलो यात्रा भएको र यसले ३ वटै देशको सहकार्यलाई अझ मजबुत बनाउने बताइन् । सम्झौता कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका उच्च पदस्थ अधिकारी, नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभबलपमेन्ट बोर्ड र एनटीपीसीका प्रतिनिधि, नेपालस्थित भारत र बंगलादेशका प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३