म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षभित्र ८७४ घरपरिवारमा केन्द्रीय प्रसारणलाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष (आव) २०८१/८२ मा जिल्लाका विभिन्न ठाउँमा उक्त संख्याका घरधुरीमा बिजुली पुगेको हो ।
केन्द्र प्रमुख सत्यनारायण गामीले एक आर्थिक वर्षमा मालिका गाउँपालिका–३ पात्ले, लुप्सिपार, घ्याङलेपानी, वडा–४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण भएको जानकारी दिए ।
उनका अनुसार धवलागिरि गाउँपालिका–२ लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा–५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान भइसकेका ठाउँका उपभोक्ताले मिटर जडान गरेपछि विद्युतीकरणले पूर्णता पाउने उनले बताए ।
गतवर्ष अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइनको सुधार भएको थियो । १३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारणलाइन र रातोढुङ्गा सबस्टेसनबाट मंगला, मालिका र धवलागिरि गाउँपालिकामा गत वर्षदेखि विद्युत् आपूर्ति गराउन थालिएको छ ।
उज्यालोका लागि सोलार, मट्टीतेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सृजना भएको छ ।
यस वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ विद्युत्का ग्राहक पुगेका केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए । आव २०८०/८१ मा १ हजार ४३८, २०७९/८० मा १ हजार २३८, २०७८/७९ मा ७ सय ७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ ।
पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा समेत म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेसनमार्फत विद्युत् वितरण हुँदै आएको छ । म्याग्दीका १४ स्थानका २ हजार १८३ घरमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आव २०८०/८१ देखि २२ करोड रूपैयाँ बजेटको योजना सञ्चालन गरेको छ ।
गत आवमा म्याग्दी वितरण केन्द्रमार्फत १ करोड ७३ लाख ९५ हजार ७९७.७१ युनिट विद्युत् खपत हुँदा २० करोड ३३ लाख ६३ हजार ३८१ रूपैयाँ महसुल सङ्कलन भएको छ । समयमा महसुल नबुझाउने १४५ जना ग्राहकको लाइन काटेर १३ लाख ४५ हजार ४०७ रूपैयाँ बक्यौता असुल गरिएको छ ।
६० दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र ६ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका १ जनाबाट ७७ हजार रूपैयाँ महसुल उठाएको र थप ११ जनाबाट २ लाख ७८ हजार ९०४ रूपैयाँ उठाउन बाँकी रहेको वितरण केन्द्रका लेखा प्रमुख श्याम रानाले बताए ।