काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ जलविद्युत् कम्पनीले कुल २० अर्ब २१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । आफ्नो पुँजी आधार सुदृढ बनाउन, सञ्चालनरत आयोजना अघि बढाउन तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण घटाउन यस्तो माग गरिएको हो ।
सेबोनका अनुसार ती कम्पनीहरूले विद्यमान सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै आवेदन दिएका छन् । हकप्रदबाट सङ्कलित रकम मुख्यतः चुक्ता पुँजी वृद्धि, निर्माणाधीन आयोजनामा लगानी तथा ऋण भुक्तानीका लागि उपयोग गरिने उल्लेख छ ।
आवेदन दिने कम्पनीमध्ये साहस ऊर्जा लिमिटेडले सबैभन्दा बढी ४ अर्ब ३७ करोड रुपैयाँ बराबरका ४ करोड ५७ लाख ४० हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको छ । उसले १:१ अर्थात् शतप्रतिशत अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ, जसअनुसार हालका प्रत्येक एक कित्ता सेयरधनीले थप एक कित्ता सेयर खरिद गर्न पाउनेछन् ।
यसैगरी, अन्य ६ कम्पनीले पनि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेका छन् । ती कम्पनीहरूमा पिपुल्स हाइड्रोपावर, सगरमाथा जलविद्युत्, हिमालयन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र माई खोला हाइड्रोपावर रहेका छन् । जलविद्युत् कम्पनीले बढ्दो पुँजी आवश्यकताका साथै ऋणको दायित्व व्यवस्थापन गर्न वित्तीय अवस्था सुदृढ बनाउने उद्देश्यले हकप्रद सेयर जारी गर्ने तयारी गरेका हुन् ।
हाल नेप्सेमा ११० जलविद्युत् कम्पनी सूचीकृत छन् । तीमध्ये धेरै कम्पनीले पछिल्ला वर्षमा हकप्रद सेयर जारी गरिसकेका छन् भने अन्य केही सेबोनको स्वीकृतिको प्रतीक्षामा छन् ।