विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
विद्युत् प्राधिकरणका सहायक कम्पनी अन्तर्गतकै आयोजनाको दुर्दशा

काठमाडौँ । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले विकास गरेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण पूरा भए पनि विद्युत् उत्पादन भने अनिश्चित बनेको छ ।

नेपाल विद्युत् प्राधिकरणले चिलिमे हब सबस्टेशन (२२० केभी) र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको हो । प्रसारण लाइन अभावकै कारण विद्युत् उत्पादन हुन नसक्दा आयोजनालाई अर्बौं रुपैयाँ आर्थिक नोक्सानी पर्ने देखिएको छ ।

विद्युत् उत्पादन गर्न तयारी अवस्थामा रहे पनि प्रसारण लाइनको अनिश्चितताले थप काम अगाडि बढ्न नसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए । ‘आयोजनाले सम्पन्न गर्नुपर्ने १० किलोमिटर प्रसारण लाइन पूरा भइसकेको छ तर चिलिमे हब नबन्दासम्म यसको अर्थ नहुने भयो,’ उनले भने, ‘यसबाट कम्पनीले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने देखिन्छ ।’

प्रसारण लाइन नबन्दा मासिक करिब २७ करोड रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ । त्यसमाथि ठेकेदारले दाबी भुक्तानी थप्दै गयो भने झनै ठूलो समस्या उत्पन्न हुनेछ । प्राधिरकणले गत चैतभित्रै प्रसारण लाइन पूरा गर्ने दाबी गरे पनि भौगोलिक जटिलताका कारण काम सक्ने समय लम्बिँदै गएको छ ।

‘गत माघदेखि जलाशय र सुरुङमा पानी भरेर राखे पनि उपयोगमा आउन सकेको छैन,’ आयोजना प्रमुख सत्यराम ज्याख्वाले ऊर्जा खबरसँग भने, ‘विद्युत्गृहका ट्रान्सफर्मर लगायत उपकरण चार्ज गर्न सकिएन भने बिग्रिने सम्भावना हुन्छ ।’ आयोजनाको तर्फबाट विद्युत् उत्पादनका लागि काम बाँकी नरहेको उनले बताए ।

कर्मचारी सञ्चय कोषको ५० प्रतिशत ऋण लगानीमा बनेको आयोजनाले समयमै उत्पादन गरेर आम्दानी लिन नसक्दा उक्त ऋणको साँवाब्याजको भुक्तानी अवधिसमेत लम्बिन सक्ने देखिन्छ । 

प्रसारण लाइनको प्रगति

उत्पादित विद्युत् जोड्ने सबस्टेसन र प्रसारण लाइनको काम पूरा गर्न अझै केही महिना लाग्ने देखिन्छ । यद्यपि, प्राधिकरण उच्च भोल्टेज ग्रिड विकास विभागका निर्देशक थर्कबहादुर थापाले चिलिमे हबको निर्माण पूरा भइसकेको जानकारी दिए । ‘आगामी जेठ ४ गते सबस्टेसन उद्घान गर्ने तयारी छ,’ उनले भने, ‘त्यसको १५ दिनपछि प्रसारण लाइनको सबै काम सकिन्छ ।’

२८ किलोमिटर लामो प्रसारण लाइनमा ७५ वटा टावर निर्माण हुनेछन् । थापाका अनुसार अहिलेसम्म ६६ वटा टावरको ठड्याइसकिएको छ भने ७ वटा टावरको जग खन्न बाँकी छ । यसका आधारमा भने अबको १ महिनाभित्र प्रसारण लाइन पूरा हुने सम्भावना न्यून देखिन्छ । यद्यपि, थापाले जेठ तेस्रो सातासम्म जसरी पनि काम पूरा गरिने दाबी गरे ।

ठेकेदारको ढिलासुस्तीलाई हस्तक्षेप गरी अधिकांश काम प्राधिकरण नै अग्रसर भएर गरिरहेको थापाले बताए । काम पूरा गर्न आवश्यक सम्पूर्ण उपकरण तथा सामग्री निर्माणस्थलसम्म पुर्‍याइएको पनि उनले जानकारी दिए ।

विगतको ढिलाइ

आयोजनाको निर्माण सन् २०१४ को फ्रेब्रुअरी ६ (२०७० माघ २३ गते) बाट सुरु भएको थियो । आयोजनाको निर्माण जुलाई, २०१७ मा सम्पन्न गर्ने लक्ष्य थियो तर काम सुरु भएको १० वर्ष बितिसक्दासमेत सञ्चालनमा आउन सकेको छैन ।

भूकम्प, नाकाबन्दी, कोरोना महामारी (कोभिड–१९), बर्खाको बाढी र पहिरो, हिउँदमै खस्ने सुख्खा पहिरो जस्ता अवरोधले आयोजनाको काममा ढिलाइ भएको देखिएको छ । आयोजना निर्माण सुरु हुँदा ताका देशमा २०७२ वैशाख १२ गते गएको भूकम्पको त्रासपूर्ण वातावरण थियो ।

त्यसलगत्तै देशमा २०७२ असोज ७ देखि झण्डै ५ महिना भारतले नाकाबन्दी लगायो । भारतबाट आउने पेट्रोलियम र खाद्य वस्तुको समेत संकट भोग्नुपरेको त्यस समयमा नेपालका पूर्वाधार विकासका आयोजनाले गति लिने अवस्था बनेन । प्रत्येक वर्ष आउने बाढी र सुख्खा पहिरोले काममा अवरोध गर्‍याे ।

त्यस्तै, २०७६ चैत ११ देखि कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले करिब डेढ महिना पूर्ण रूपमा ‘लकडाउन’ घोषणा गर्यो । त्यसपछि पनि झण्डै एक वर्षसम्म आंशिक लकडाउन जारी नै रह्यो । आयोजना क्षेत्रमा गइरहने सुख्खा पहिरोले पनि धेरै समय अवरोध गरेको आयोजना प्रमुख ज्याख्वाले बताए ।

२०७८ असार १ गते सो क्षेत्रमा ठूलो बाढी आउँदा आयोजनाको भूमिगत विद्युत्गृहमा पानी छिरेर सम्पूर्ण उपकरण डुबाएको थियो । जडानका लागि तयारी अवस्थामा राखिएका इलेक्ट्रो मेकानिकल उपकरणमा क्षति पुगेको थियो । यी विविध कारणले आयोजनाको समय अवधि विगतमा लम्बियो । तर, संशोधित तालिका अनुसार ८ वर्षपछि निर्माण पूरा हुँदा पनि विद्युत् उत्पादन हुन नसक्नुमा प्रसारण लाइनको पाटो जिम्मेवार देखिएको छ ।

सम्पन्न कामहरू

आयोजनाका ३ वटै लटका ठेक्का अन्तर्गतका निर्माण तथा आपूर्ति र जडान कार्य भइसकेको छ । लट–१ अन्तर्गत सिभिल संरचनाको निर्माण सिडब्लुई कम्पनीले र लट–२ अन्तर्गत इलेक्ट्रो मेकानिकल जडान कार्य भारतीय कम्पनी भोइथले पूरा गरेका छन् ।

त्यस्तै, लट–३ अन्तर्गत रहेको विद्युत्‌हदेखि चिलिमे हबसम्म जोडिने १० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण रोयल कन्स्ट्रक्सन कम्पनीले पूरा गरेको छ । विद्युत्‌हको ‘आर्किटेक्चरल फिनिसिङ’को काम बाँकी भए पनि हाल सबै युनिटबाट विद्युत् उत्पादन गर्न सक्ने अवस्था छ ।

त्यस्तै, लट–१ तर्फको सुरुङ निर्माण, परीक्षण लगायत कार्य सफल भई विद्युत् उतपादनका लागि तयारी अवस्थामा छ । लट–२ अन्तर्गत इलेक्ट्रो मेकानिकल उपकरणको जडान, ‘ड्राइ कमिसनिङ र वेट कमिसनिङ’का सम्भव भएसम्मका सबै काम सकिएको छन् ।

बाँकी काम गर्न प्राधिकरणको निर्माणाधीन चिलिमे हब सबस्टेशनबाट १३२ केभीको लाइन लिई ‘ब्याक चार्ज’ गर्नुपर्छ तर सबस्टेसनको काम बाँकी नै छ । यसैले पनि आयोजनाको बिजुली खेर जाने अवस्था देखिएको छ ।

आयोजनाको थप विवरण

आयोजना : रसुवागढी जलविद्युत् आयोजना
प्रवर्द्धक : रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेड
आयोजनास्थल : रसुवा, गोसाइकुण्ड गाउँँपालिका
लट–१ ठेकेदार (सिभिल तथा हाइड्रो मेकानिकल) : चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लूई) ।
ठेक्का सम्झौता : २०७० पुस २१ गते ।
लट–२ ठेकेदार (इलेक्ट्रो मेकानिकल) : भारतीय कम्पनी भोइथ हाइड्रो प्रालि ।
ठेक्का सम्झौता : २०७१ साउन १५ गते ।
लट–३ ठेकेदार (प्रसारण लाइन) : सुरुमा मुडभरि एन्ड जोशी कन्स्ट्रक्सन प्रालि । पछि एमएस रोयल कन्स्ट्रक्सन कम्पनी ।
ठेक्का सम्झौता : जोशी एन्ड मुडभरीसँग २०७४ असार १ गते । एमएस रोयलसँग २०७९ कात्तिक १५ गते ।
ऋण लगानीकर्ता : कर्मचारी सञ्चय कोष ।
प्रक्षेपित लागत : ऋण र विद्युत् खरिद सम्झौता (पिपिए) का क्रममा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ । ठेक्का स्वीकृतको चरणमा १५ अर्ब २० करोड रुपैयाँ ।
संशोधित लागत : १७ अर्ब १ करोड रुपैयाँ । पुनः संशोधित १८ अर्ब ४७ करोड ।
पिपिए : हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० रुपैयाँ ।
वार्षिक ऊर्जा उत्पादन : ६१ करोड ३८ लाख ६० हजार युनिट
विद्युत् उत्पादन तालिका : २०७८ भित्र, संशोधितः २०८० असार, पुनः संशोधितः २०८० असोज, नयाँ संशोधितः २०८० चैत ।
प्रसारण लाइन : चिलिमे हबसम्म १० किलोमिटर, १३२ केभी ।
वार्षिक आम्दानी : ३ अर्ब २५ करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३