काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबारदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो ।
बढेको मूल्य भौगोलिक क्षेत्र अनुसार सबैभन्दा बढी तेस्रो वर्गमा पर्ने उपभोक्ताका लागि प्रतिलिटर पेट्रोलको मूल्य २०२ रुपैयाँ पुगेको छ । यसअघि याे वर्गका उपभाेक्ताका लागि पेट्रोलको मूल्य बढीमा १८७ रुपैयाँ पुगेको थियो ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको र रुस–युक्रेन युद्धका कारण आपूर्ति शृङ्खलामा अवरोध आएकाले मूल्य समायोजन गर्नुपरेको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार निगमलाई अझै पनि ठूलो घाटा रहेको छ ।
मूल्य वृद्धि हुनुअघि निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने अवस्था रहेकोमा मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा रहने प्रक्षेपण गरिएको छ ।
निगमले मूल्य स्थिरीकरण कोषको समेत प्रयोग गर्दा पनि घाटा न्यूनीकरण गर्न कठिन भएको बताएको छ । निगमले हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै उपभोक्ताहरूलाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययीता अपनाउन (कम खपत गर्न) समेत आग्रह गरेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण निगमले इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने बक्यौता रकम समेत बढ्दै गएकाले समेत निगमले जानकारी गराएको छ ।
