काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् केन्द्र तथा आयोजनामा कार्यरत ८९७ जना व्यक्ति अझै सम्पर्कविहीन छन् । भदौ १० गते बाढी आएको आज ५ दिन बितिसक्दा समेत प्रभावकारी रूपमा उद्धार तथा खोजी हुन सकिरहेको छैन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) बाट प्राप्त विवरणअनुसार बाढीबाट रसुवा र नुवाकोटका ११ जलविद्युत् केन्द्र तथा आयोजना प्रभावित छन् । १११ मेगावाटको रसुवागढी, २१६ मेगावाटको माथिल्लो त्रिशूली-१, माथिल्लो त्रिशूली-३ ए र माथिल्लो त्रिशूली-३ बी मा सयौँ कर्मचारी तथा कामदार हराइरहेका छन् ।
रसुवामा मात्रै ६ आयोजनाबाट ७२९ जना सम्पर्कविहीन रहेकोमा सबैभन्दा ठूलो संख्या माथिल्लो त्रिशूली–१ मै छ । उक्त आयोजनाबाट ५७६ जना सम्पर्कविहीन रहेको उल्लेख छ । यस्तै, रसुवागढीबाट ९३ जना, लाङटाङ खोला (२० मेगावाट) बाट ४१ जना, रसुवा–भोटेकोशी (१२० मेगावाट) बाट ४ जना, चिलिमे (२२ मेगावाट) बाट ८ जना र मैलुङ खोला (५ मेगावाट) बाट ७ जना सम्पर्कविहीन छन् ।
नुवाकोटमा प्रभावित प्रमुख ६ आयोजनाबाट १६८ जना सम्पर्कविहीन छन् । यसमध्ये माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेगावाट) बाट ४२ जना र माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट) बाट १२२ जना सम्पर्कविहीन रहेको तथ्यङ्क प्राप्त भएको छ ।
सुरुङभित्रै सयौं फसेको आशंका
बाढीका कारण सबैभन्दा गम्भीर अवस्था माथिल्लो त्रिशूली–१ आयोजनामा देखिएको छ । आयोजनामा सुरक्षित स्थानमा रहेका २५४ जनाको उद्धार भइसकेको भए पनि सम्पर्कविहीन ५७६ जनामध्ये करिब ३०० जना सुरुङभित्रै थुनिएको हुनसक्ने अनुमान छ । उनीहरूको खोज तथा उद्धारमा अहिलेसम्म उल्लेख्य प्रगति हुन सकेको छैन ।
यता, माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार टोली टनेल पोर्टलसम्म पुगे पनि सुरुङभित्र प्रवेश गर्न मिल्ने गरी पोर्टलमा अवरोध हटाउन बाँकी नै छ । अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको र सम्भावित कार्यस्थलसम्म पुगेर त्यहाँ फसेका व्यक्तिको वास्तविक अवस्था पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ । उद्धारपछि आवश्यक उपचारका लागि मेडिकल टोलीसमेत तयारी अवस्थामा राख्ने गरी नेपाली सेनासँग समन्वय गरिएको छ ।
रसुवागढीमा ९३ जनाको खोजी
रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ जनाको खोजी कार्य सुरु गरिएको छ । उपकरणसहित उद्धार टोली आयोजनाको विद्युत्गृहसम्म पुगेको छ । यसअघि भौतिकरूपमा खोजी गर्न कठिनाइ भए पनि आइतबार उपकरणसहित उद्धार टोली विद्युत्गृहमा पुगेको हो ।
आयोजनाबाट सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी, २ जना ज्यालादारी कर्मचारी तथा निर्माणमा संलग्न विभिन्न कम्पनीका कामदार छन् । सुरुङमा फसेका ६ मध्ये ४ जना दुई दिनपछि आफैं बाहिर निस्कन सफल भएका थिए भने उनीहरूलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएको विवरणमा उल्लेख छ ।
लाङटाङ खोलाका ४१ को अझै उद्धार हुन सकेनन्
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा सुरुङभित्र फसेका ४१ जनाको उद्धार हुन सकेको छैन । आयोजनाबाट १९ जनाको यसअघि नै उद्धार भए पनि सुरुङमा रहेका ४१ जनाको अवस्था अझै स्पष्ट हुन नसकेको विवरणमा उल्लेख छ ।
उद्धारका लागि आइतबारमात्रै उपकरणसहित नेपाली सेनाको टोली परिचालन गरिएको थियो । टोलीले खोजतलास गरे पनि अहिलेसम्म सफलता प्राप्त गर्न नसकेको इपानले जानकारी दिएको छ ।
चिलिमे र मैलुङमा चुनौतीपूर्ण
२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृहमा फसेकाहरूको उद्धारसमेत प्रभावित भएको छ । उद्धारका लागि भारतीय प्राविधिक टोलीको समेत सहभागितामा काम सुरु भए पनि पुनः आएको बाढीले बाँध क्षेत्रका बाँकी संरचना भत्काएपछि उद्धार कार्य रोकिएको छ । आइतबारको बाढीले इन्टेक क्षेत्रमा रहेका संरचनासमेत बगाएको छ ।
त्यस्तै, ५ मेगावाटको मैलुङ खोलाबाट सम्पर्कविहीन ७ जनाको अवस्था अझै अज्ञात छ । सम्बन्धित निकायसँग पहल गरिए पनि उनीहरूको खोजी कार्य अघि बढ्न नसकेको विवरणमा उल्लेख छ ।
माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि फसेकाहरूको उद्धारका लागि नेपाली सेना र चीनबाट आएको प्राविधिक टोली परिचालन गरिए पनि सफलता प्राप्त हुन सकेको छैन । आयोजनाको संरचना रहेको स्थान पहिचान गर्ने कामबाट उद्धार प्रयास अघि बढाइएको छ ।
भोटेकोसी बाढीबाट सञ्चालनरत ८ जलविद्युत् केन्द्र (२८१ मेगावाट) र निर्माणाधीन ४ गरी (३८८ मेगावाट) १२ आयोजनाका कर्मचारी तथा कामदारहरू हराइरहेको विवरणमा उल्लेख छ । जलविद्युत् आयोजनाका सुरुङ, विद्युत्गृह र अन्य संरचनामा फसेका तथा सम्पर्कविहीन व्यक्तिको उद्धार ठूलो चुनौती बनेको छ ।