काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओमा आवेदन लम्बिएको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि माघ ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आइपिओमा आवेदन दिने अवधि लम्बिएको हो । कम्पनीका अनुसार आइपिओमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, मागभन्दा बढी आवेदन परेमा सो अगावै जुनसुकै समयमा पनि निष्कासन तथा बिक्री बन्द गरिने कम्पनीले बताएको छ ।
कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ९ लाख ८० हजार कित्ता साधारण सेयर वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत् उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरू र आयोजनाको विद्युत् प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्न कम्पनीले बताएका छन् ।
कम्पनीका अनुसार सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । आइपिओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।
कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाटको भिमखोला साना जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत् अनुमतिपत्र २९.०८ वर्ष बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.९२ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६४ वर्ष रहेको छ । सो आयोजनाबाट २०८१ फागुन २५ देखि व्यावसायिक उत्पादन भइरहेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ प्रति दरखास्त शुल्क बुझाउनु पर्ने कम्पनीले बताएको छ ।