काठमाडौँ । दैलेखको नौमुले गाउँपालिकामा निर्माणाधीन ४ मेगावाटको माथिल्लो लोहोरे खोला जलविद्युत् आयोजनाले ३३ केभी विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । यसका लागि अनुमति माग्दै प्रवर्द्धक माथिल्लाे लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
सिङ्गल सर्किट रहने यस लाइनबाट ४ मेगावाटसम्मको विद्युत् प्रसारण गर्न सकिने कम्पनीले जनाएको छ । जलविद्युत् आयोजनाको स्विचयार्डदेखि सोही जिल्लाको पदम खोला साना जलविद्युत् आयोजनाको स्विचर्याडसम्म २.८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिने छ ।
प्रसारण लाइन ५ महिनाभित्र निर्माण सक्ने लक्ष्य रहेको छ । प्रसारण लाइन निर्माण गर्दा वातावरणमा उल्लेखनीय प्रतिकुल असर पर्ने देखिए ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा लिखित राय तथा प्रतिक्रिया दिन विभागले सूचना जारी गरेका छ ।