काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो ।
सिक्टाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका ४ वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म २ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ ।
बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताए ।
विभागकाअनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजना, टिकापुर (कैलाली) ले १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लागत अनुमानका ६ वटा बोलपत्र आह्वान गरेको छ । आयोजनाको भौतिक प्रगति साउनमा ८ प्रतिशत रहेकोमा भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ ।
वित्तीय प्रगति पनि सोही अवधिमा ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ । आयोजनाले पुस मसान्तसम्म २ अर्ब ३० करोड रुपैयाँ बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध बनाउने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ ।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका ४ वटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ ।
सुनकोसी–मरिण डाइभर्सन आयोजनाले भने पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ र ६.१८ किलोमिटर तटबन्धको लक्ष्य राखेको छ ।