काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको हो ।
११ करोड ७६ लाख ४५ हजार रकम बराबरको सय रुपैयाँ अंकित ११ लाख ७६ हजार ४ सय ५० कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि भदौ २९ गते आवेदन दिएको हो ।
कम्पनीले बोर्डबाट अनुमति पाउने लगतै पहिलो चरणमा प्रभावित स्थानीयका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेकाे छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईएमबी एसी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले गोरर्खा जिल्लाको रिचेत खोलामा निर्माण गरेकाे ५ मेगावाटको रिचेत खोला स्मल जलविद्युत आयोजनाले २०७८ साउन २८ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।