काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ । कम्पनीले कुल ११ लाख ८० हजार २६० कित्ता प्राथमिक सेयर बिक्री खुला गरेको हो । यस मध्ये ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २८ हजार ४४० कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदन दिन चाहनेले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट फाराम भर्न सक्नेछन् । साथै, मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन गर्ने सुविधा पनि उपलब्ध रहेको छ ।
यस आइपिओमा छिटोमा फागुन ४ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ।
कम्पनीले बोर्डबाट २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको थियो । स्वीकृतिअनुसार पहिलो चरणमा गत पुस १३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सेयर बिक्री गरिसकेको छ । पहिलो चरण पूरा भएपछि अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आइपिओ खुला गरिएको हो ।