विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार १२, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशको ऊर्जा सुरक्षाका लागि ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । सञ्चारकर्मीहरुसँगको एक छलफल कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी वर्षबाट कुलेखानी–सिस्नेरीलगायतका स्थानमा ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजना निर्माण अघि बढाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।   

खेर जाने पानीलाई जलाशयमा भरेर माथिल्लो भागमा रहने जलाशयमा विद्युतीय पम्पमार्फत पठाएर बिजुली निकाल्ने ‘पम्प स्टोरेज’ आयोजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना अघि बढाएको उनले बताए । दैनिक विभिन्न समयमा हुने विद्युत् मागको उतार–चढावलाई कम गर्न यस्तो आयोजना प्रभावकारी हुने उनको भनाइ छ । 

‘दिगो ऊर्जा सुरक्षा मेरो प्राथमिकता हो । ठूला जलाशययुक्त आयोजनाहरू आज सुरुवात गरियो भने ती पूरा हुन् करिब १५ वर्ष लाग्छ,’ उनले भने, ‘१५ वर्षसम्ममा प्रविधि कहाँ पुग्छ थाहा हुँदैन । त्यसैले, अहिले ठूला–ठूला ऊर्जा भण्डारणका आयोजना सुरु गर्नुको विकल्प छैन ।’

औद्योगिक क्षेत्रहरूमा ब्याट्री स्टोरेज

उनले एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भैरहवा, वीरगन्ज, विराटनगर र नेपालगन्ज जस्ता ठूला औद्योगिक क्षेत्रमा १०० मेगावाटसम्मका ब्याट्री स्टोरेज (तत्काल खपत नभएको विद्युत्लाई ब्याट्रीमा चार्ज गरेर भण्डार गरी राख्ने) योजना बनाएको बताए । 

‘अहिले ब्याट्री भन्ने वित्तिकै घर–घरमा राख्ने भन्ने हल्ला चलाउने गरिएको छ तर त्यसो होइन,’ उनले भने, ‘१०० मेगावाटका ब्याट्री ठूला उद्योग भएका क्षेत्रहरूमा राखियो भने लामो समय ट्रिप हुने समस्यामा कमी आउँछ ।’ 

‘दिउँसो सोलारबाट चार्ज हुन्छ फेरि राती हाइड्रोबाट चार्ज हुन्छ । उद्योगमा ती ब्याट्रीमार्फत विद्युत् आपूर्ति हुन्छ र त्यसले गर्दा अन्ततिरको लोड कम हुन्छ । जसका कारण अन्त नियमित विद्युत् आपूर्तिमा सहज हुन्छ ।’

प्रसारण र वितरण लाइनमा जोड 

कार्यकारी निर्देशक शाक्यले विद्युत् उत्पादन बढ्दै गए पनि त्यस अनुसार प्रसारण लाइन विस्तार नहुँदा विद्युत् आपूर्ति प्रभावित भएको भन्दै प्रशारण र वितरण लाइन दु्रत गतिमा बनाउनुको अर्को विकल्प नभएको पनि बताए । ‘प्राधिकरणले जसरी पनि स्रोत जुटाएर प्रसारण लाइन विस्तारको कामलाई अघि बढाउँछ,’ उनले भने, ‘हामीले त्यसो गर्न नसक्ने हो भने स–स्याना घटनामा पनि विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने हुन्छ ।’ 

उनले वितरण लाइनमा त्यति अवरोध नभए पनि प्रशारण लाइनमा अवरोध रहेको भन्दै ती समस्याको समाधान गरी अघि बढ्ने पनि उल्लेख गरे । 
‘कुन–कुन नीतिले कहाँ–कहाँ अप्ठ्यारो पारेको रहेछ भनेर म नियुक्त भएपछि अध्ययन गरेँ तर ऐनले खासै अप्ठ्यारो पारेको देखिएन,’ उनले भने, ‘भूूउपयोग नीति र नियमावलीमा भएको व्यवस्था अनुसार केही नीतिगत निर्णय मन्त्रिपरिषद्बाट भइदिए धेरै गाँठो फुक्ने थियो । हामीले त्यसै अनुसार काम अघि बढाउने तयारी गरेका छौँ ।’

उपत्यकाको ट्रिपिङ समाधान गरिने  

शाक्यले अहिले बाहिरभन्दा काठमाडौँ उपत्यकामा बढी ट्रिपिङको समस्या आएको भन्दै यसको समाधानका लागि भक्तपुर अथवा मातातीर्थतिर १०० मेगावाटको ऊर्जा भण्डारका लागि ब्याट्री राख्ने योजना बनाएको पनि बताए । ‘त्योसँगै आवश्यक ठाउँहरूमा ट्रान्सफर्मर थप्ने भन्ने पनि तयारी छ,’ उनले भने, ‘केही समयअघि स्युटाचारमा भएको घटनाले ट्रान्सफर्मरको क्षमता बढाउने होइन कि अर्को ट्रान्सफर्मर, फिडर थप्ने गरी अघि बढ्नुपर्छ भन्ने देखाएको छ । हामीले त्यसका लागि पनि पहिचान गर्दै आएका छौँ । त्यसले हाम्रो प्रणालीको प्रभावलाई बढाउँछ ।’ 

उनले विस्तारै ‘ओभर हेड फिडर’ सँगै भूमिगत केबुलको फिडरले पनि प्रणालीको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा लिएको बताए । त्योसँगै सब–स्टेशनमा हाइ–भोल्टेजका ट्रान्फरर्मर र त्योसँगै फिडरबाट पोल–पोलमा भएको ट्रान्फरर्मरको पनि क्षमता वृद्धि गर्ने रणनीति लिएको उनले जानकारी दिए । 
उनले लामो फिडरमा एक ठाउँमा विद्युत् आपूर्तिमा समस्या हुँदा त्यहाँको सबै ठाउँमा बत्ती जाने अवस्था हुने भन्दै त्यसको समाधानका लागि रणनीति बनाएको जानकारी दिए । ‘साना–साना प्राविधिक समस्याहरूको समेत पहिचान गरेर समस्या समाधानको उपाय खोज्छौँ र आगामी वर्षसम्ममा केही नयाँ भयो भन्ने अनुभूति उपभोक्तालाई हुने गरी काम गर्छौ,’ उले भने । 

विपत्‌का लागि ‘रेस्पोन्स टिम’

विद्युत् प्राधिकरणले बर्खासँगै आउने बाढी, पहिरो, हावा–हुरी तथा असिना, मुसल्धारे वर्षा जस्ता विविध प्रकृतिका प्रकोपका घटनाहरूबाट विद्युत् आपूर्तिमा आउन सक्ने अवरोधलाई तत्काल समाधान गर्न ‘रेस्पोन्स टिम’ बनाउने तयारी गरेको पनि जानकारी दिएको छ । ‘हरेक प्रदेश र वितरण केन्द्रमा हामीले रेस्पोन्स टिम राख्छौँ,’ उनले भने, ‘बर्खासँगै आउने प्रकृतिका प्रकोपका घटनाहरूबाट विद्युत् आपूर्तिमा आउन सक्ने अवरोधलाई तत्काल समाधान गर्न हामीले रेस्पोन्स टिम राख्ने तयारी थालेका छौँ ।’

उनीहरूले त्यहाँको प्राप्त स्रोत, साधन र जनशक्तिको प्रयोगबाट समाधानको उपाय तत्काल खोज्ने पनि उनले जानकारी दिए । 

कर्मचारीप्रति पूर्वाग्रह छैन

शाक्यले पछिल्लो समय विद्युत् प्राधिकरणमा नयाँ नेतृत्व आएपछि कर्मचारीले पनि असहयोग गर्दै आएको भन्दै हल्ला चलेकोप्रति संकेत गर्दै आफ्ना कर्मचारीप्रति पूर्ण विश्वस्त रहेको र उनीहरूले पनि खुलेर सहयोग गर्नुको अर्को विकल्प नभएको धारणा राखे । ‘म पूर्वाग्रही भएर कर्मचारीलाई व्यवहार गर्दिन उहाँहरूबाट पनि त्यही खालको अपेक्षा राख्छु,’ उनले भने, ‘अहिलेसम्म चलिरहेको छ अब पनि चल्छ भन्ने खालको लापरबाही कर्मचारीबाट नहोस् भन्ने मेरो अपेक्षा छ । भएको रहेछ भने त्यो सधैँ रहँदैन ।’

उनले अहिलेको ट्रिपिङको समस्या प्रणालीका कारण नभएको भन्दै आफूले निगरानी बढाइरहेको र चर्चा चले जस्तै केही समय तरङ्ग ल्याउन कर्मचारीबाट भएको रहेछ भने त्यस्तो अवस्थामा चुप लागेर बस्ने कुरा नहुने बताए । ‘म अहिले पनि हरेक दिन कहाँ–कहाँ बढी ट्रिप भयो भनेर हेर्दै आएको छु,’ उनले भने, ‘बढी ट्रिप भयो भने किन त्यसो भयो भनेर सोध–खोज गर्ने र तत्काल समस्याको समाधान खोज्ने काम भैरहेको छ । म समस्याको खोजि गरेर तत्काल पहिचान गर्दै समस्या समाधानको उपायमा निरन्तर लागिरहेको छु ।’

औद्यागिक ग्राहकसँग सम्बन्ध सुधार्ने

उनले सञ्चालक समितिले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरी महसुल बक्यौता रहेका ग्राहकलाई पुनरावलोकन लागि जेठ मसान्तासम्मको म्याद दिएको भन्दै प्राधिकरण यो विषयलाई लामो समयसम्म अलमल्याएर राख्ने पक्षमा नरहेको पनि प्रष्ट पारे । 

उनले लामो सयमसम्म यो विषय विवाद हुँदा उद्योगी र राज्य दुवैलाई समस्या भएको भन्दै जुन विधिबाट भए पनि समाधानको खोजी तत्काल गर्नुपर्नेमा पनि जोड दिए । उनले उद्योगीसँग पहिलाको जस्तो दूरी बढाउने रणनीतिमा प्राधिकरण नभएको भन्दै उद्योगीहरुले पनि नियम परिधिभित्र रहेर समस्या समाधानका उपायको खोजीमा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३