काठमाडौँ । कोशी प्रदेश लगानी सम्मेलन–२०२५ मा कामठाडौँ विश्वविद्यालयले तयार पारेको ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना परियोजना सोकेसमा राखिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित वीरेन्द्र सभागृहमा बिहीबार उद्घाटन गरेको उक्त २ दिने सम्मेलनमा विश्वविद्यालयले तयार पारेको ३२ अर्ब लागतको उक्त परियोजना रखिएको हो ।
सुनसरी जिल्लामा निर्माणका लागि प्रस्ताव गरिएको उक्त परियोजनाको सार्वजनिक–निजी सझोदारी (पिपिपी) लगानी प्रारूपमा निर्माणका लागि अघि सारिएको र यसको निर्माण अवधि ६ वर्षको रहने विश्वविद्यालयका एशोसिएट प्रोफेसर डा. विराजसिंह थापाले बताए । ‘यस परियोजनामा लगानीसम्बन्धी समझदारी पत्र (एमओय) मा भोलि हस्ताक्षर हुने कार्यक्रम छ,’ डा. थापाले ऊर्जा खबरसँग भने ।
विश्वविद्यालयको हाइड्रोजन ल्याब प्रमुख समेत रहेका डा. थापाका अनुसार उक्त परियोजना नेपालमा हाइड्रोजन इन्धनको उत्पादन तथा प्रयोगको सुरुवात तथा रासायनिक कृषिमलको उत्पादनको दृष्टिले समेत महत्त्वपूर्ण सुरुवात हुन सक्छ ।
उनका अनुसार यस परियोजनाअन्तर्गत जलविद्युत्को प्रयोग गरी उत्पादन गरिने ग्रिन हाइड्रोजन र सिमेन्ट उद्योगले उत्सजर्न गर्ने कार्बनडाइअक्साइडको प्रयोग गरी युरिया मल उत्पादन गर्ने लक्ष्य छ । दैनिक ६५० मेट्रिक टन तथा वार्षाक २ लाख मेट्रिक टन उत्पदन गर्ने गरी परियोजना अघि बढाइएको छ ।उक्त परिमाणको मल उत्पादन गर्न ४०१.८ मेगावाट बिजुली तथा प्लान्ट स्थापनाका लागि १ हजार वर्गमिटर क्षेत्रफलको जमिन आवश्यक हुने छ ।
नेपालमा वार्षिक ८ लाख मेट्रिकटन रासायनिक मलको माग गरेको र हाल ५ लाख मेट्रिक टन मात्र उपलब्ध रहेकोले कारखानाले मलको आपूर्तिलाई सहज बनाउने अपेक्षा गरिएको समेत उनले बताए ।
२० भन्दा बढी विदेशी लगानीकर्तासमेत सहभागी रहेको सम्मेलनमा कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमानसहित ७१ वटा परियोजना सोकेसमा राखिएको छ ।