काठमाडौँ । अन्नपूर्ण पावर कम्पनी प्रालिले प्रवर्द्धन गरेको ४३ मेगावाटको अपर मादी–० जलविद्युत् आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरणको आपूर्ति तथा जडान गर्न ठेक्का सम्झौता भएको छ । आयोजनाको उक्त उपकरण आपूर्ति तथा जडानका लागि ट्रोयर एजी इटालीलाई ठेक्का दिइएको हो । उक्त ठेक्कासम्बन्धी सम्झौता पत्रमा मंगलबार प्रवर्द्धक कम्पनी र ट्रोयरबीच हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा ट्रोयर एजी इटालीका अध्यक्ष स्टेफेन ट्रोयर, ट्रोयर हाइड्रो प्रालि इन्डियाका अध्यक्ष पवन ढकाल र आयोजना प्रवर्द्धक कम्पनीकाे तर्फबाट अध्यक्ष शिला कोइराला न्यौपाने र श्रीराम न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार आगामी २ वर्षभित्रमा ट्रोयरले इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति र जडान सकेर विद्युत् उत्पादन गर्न सक्ने अवस्थासम्म पुर्याउनु पर्ने छ ।
कास्कीको मादी गाँउपालिकामा निर्माण हुन लागेको आयोजनाको अनुमानित लागत करिब ८ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यस मध्ये ३० प्रतिशत प्रवर्द्धनको स्वपुँजी र ७० प्रतिशत बैंकहरुको ऋण लगानी रहने गरी वित्तीय व्यवस्थापन पूरा भइसकेको छ । आयोजनाबाट अबको करिब साढे २ वर्षभित्र व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाबाट हिउँदमा ९५ हजार ८७२ गिगावाट घन्टा र वर्षायाममा १७५.०९९ गिगावाट घण्टा गरी आयोजनाबाट वार्षिक २७०.९७१ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेशनमा जोड्ने तयारी छ ।