काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्मित यो सबस्टेसन मङ्गलबार विद्युत् प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको हो ।
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन मार्कीचोकबाट काठमाडौँसम्म ल्याउन मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन पनि मङ्गलबार नै २२० केभीमा चार्ज भएको छ । ८२ किलोमिटर उक्त प्रसारण लाइन २०७९ साल असार ७ गतेबाट १३२ केभीमा चार्ज गरिएको थियो । मार्कीचोक सबस्टेसन चार्ज भएसँगै मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दियो ।
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणाली सुदृढ बनाउन मर्स्याङ्दी–काठमाडौँ २२० केभी आयोजना अन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौँको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको छ ।
मातातीर्थ सबस्टेसन निर्माण भई गत वैशाखबाट सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभिए छ । मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मर्स्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाको विद्युत् २२० केभी लाइनबाट काठमाडौँ उपत्यकामा ल्याउन सकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार मार्कीचोक–भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरिएको छ । त्रिशूली र मस्याङ्दीका दुवै लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आवद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।
मर्स्याङ्दी–काठमाडौँ र त्रिशूली–काठमाडौँ लाइनबाट आएको करिब १/१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आवद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ । मर्स्याङ्दी–काठमाडौँ लाइनअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको थियो । दुवै सबस्टेसनको अनुमानित लागत करिब २.२५ अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुयाँलले जानकारी दिए । सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एडिबीको सहुलियत ऋणमा मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।