काठमाडौं । नेपाल हाइड्रो भेन्चर प्रालिले ४३ मेगावाटको तमोर खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिकामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
जिल्लाको तमोर खोलामा पहिचान भएको उक्त आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत पाउने लगतै आयोजनाको काम अघि बढाउनेछ ।
विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सूझाव दिन पनि माग गरेको हो ।
नदी प्रवाहीमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन बहाव २८.८८ घनमिटर प्रति सेकेण्ड र कुल हेड १७६.५ मिटर रहनेछ । आयोजनाबाट वार्षिक सरदर २४२.०३९ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ ।
आयोजनाको मुख्य संरचनाहरु तमोर खोलाको बायाँ किनारमा पर्दछन् । खोलामा बाँध बाधी खोलाको बायाँपट्टि निर्माण हुने इन्टेक पाइपबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु हुँदै विद्युत गृहमा लगिनेछ र तत्पश्चात टेलरेस क्यानल मार्फत पानीलाई तमोर खोलामा पठाइनेछ ।
विद्युत गृहमा दुईवटा २१.५ मेगावाट क्षमताको भर्टिकल एक्सेस फ्रान्सेस टर्वाइनहरुमा पानी खसाली सो टर्वाइनहरूमा पानी खसाली सो टर्वाइनसँग जोडिएको दुईवटा २४.७ एमभिएको ३ फेज जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।
उत्पादित ऊर्जालाई १३२ केभी प्रसारण लाइन मार्फत १७ किलोमिटरको दुरीमा रहेको ढुङ्गेसाँघु सब–स्टेसनमा जोडिनेछ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भूक्षय, वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।