काठमाडौँ । भोटेकोसी बाढीपछि १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रको पहुँच सुरुङ तथा भूमिगत विद्युत्गृह लेदोले पुरिएको पाइएको छ । सोमबार बिहान आयोजनाका कर्मचारीसहित नेपाली सेना र प्राविधिक सहितको उद्धार टोली विद्युत्गृह जाने उक्त सुरुङमा प्रवेश गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।
उद्धार टोलीमा रहेका एक सदस्यका अनुसार प्रवेशद्वारतर्फ आंशिकरूपमा पुरिएको सुरुङको २०० मिटरभित्रसम्म अवरोध पन्छाउँदै पुग्न सकिएको र त्यहाँभन्दा अगागि लेदोले सुरुङ पुरै पुरिएको पाइएकएको हो । कुल २५० मिटर लम्बाइएको उक्त सुरुङको थप ५० मिटर पार गरेपछि मात्र विद्युत्गृहमा पुग्न सकिन्छ ।
उक्त ५० मिटर सुरुङ लेदोले पुरिएको पाइएकोले विद्युत्गृहसमेत लेदोले पुरिएको हुन सक्ने अनुमान गरिएको छ । प्रवेश मार्ग नै लेदोले टालिएपछि विद्युत्गृहमा कार्यरत १२ जनाको खोजी तथा उद्धार कार्य जटिल बनेको छ ।
बाढीपछि आयोजनामा कार्यरत ९३ जना हालसम्म सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी, २ जना ज्यालादारी कर्मचारी तथा निर्माणमा संलग्न विभिन्न कम्पनीका कामदार छन् ।
आयोजनाको सुरुङमा फसेका मध्ये ४ जना २ दिनपछि आफैँ बाहिर निस्कन सफल भएका थिए । उनीहरूलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याएको थियो ।