काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निर्माण गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको छ । कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकामा उक्त आयोजना निर्माण गरेको हो ।
कम्पनीले आयोजनाको निर्माण सम्पन्न गरी गत असारमा १५ दिन विद्युत्को उत्पादन परीक्षण गरिसकेको छ । परीक्षण सफल भएपछि बिहीबार (साउन १२ गते) बाट पूर्ण रूपमा विद्युत् उत्पादन थालेको र विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको कम्पनीले जानकारी दिएको छ ।
वार्षिक ६१.३१९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने आयोजनाबाट वर्षायाममा ५०.८९३ गिगावाट घन्टा र सुक्खायाममा १०.४२५ गिगावाट घन्टा उत्पादन हुने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत् स्विचयार्डमार्फत ६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको समुन्द्रटारमा निर्माण गरेको १३२ केभी सबस्टेसनमा जोडिने छ ।
कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ । कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपिओ) प्रक्रिया अगाडी बढिसकेको छ भने हाल नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन (आइइई) २०८१ असोज ८ गते स्वीकृत भएको थियो । साथै, ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागबाट २०७२ असोज २२ गते उत्पादन इजाजतपत्र प्राप्त गरेको थियो । आयोजनाले २०६८ चैत ३ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो ।