काठमाडौँ । सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको (ब्रेक थ्रु भएको) छ । आयोजनाको ३१०६ मिटर लामो सुरुङको सोमबार ब्रेक थ्रु गरिएको आयोजना प्रमुख उज्जवल रेग्मीले ऊर्जा खबरलाई बताए ।
आयोजनाको विद्युत् गृहसम्म पानी लैजान निर्माण गर्नुपर्ने १ किलोमिटर लामो पेनस्टक पाइप विस्तारको अधिकांश कामसमेत पूरा भएको उनले बताएका छन् । हालसम्म आयोजनाको पुलसहितको बाँध (ब्यारेज) निर्माण र विद्युत्गृहको सिभिल संरचनासमेत तयार भइसकेको पनि उनले जानकारी दिए ।
‘आयोजनाको ७७ प्रतिशत निर्माण पूरा भइसकेकोले व्यावसायिक विद्युत् उत्पादनको संशोधित मिति अनुसार २०८२ असार भए पनि वैशाखभित्रै बिजुली बाल्ने लक्ष्यमा छाैँ,’ उनले भने, ‘त्यही अनुसार तीव्र गतिका साथ काम भइरहेको छ ।’ यसअघि २०८१ मंसिरभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएकोमा विभिन्न कारणले मिति परिमार्जन गर्नुपरेको थियो ।
आयोजनाबाट वार्षिक १३३.४३२ गिगावाट घण्टा (१३ करोड ३४ लाख ३२ हजार युनिट) विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । उत्पादित विद्युत १.५ किलोमिटर टाढा लेखनाथ–दमौली १३२ केभी प्रसारण लाइनअन्तर्गत ‘लुप इन लुप आउट’ प्रविधिमा जडान हुनेछ । आयोजनाको बाँध पृथ्वी राजमार्गको गगनगौडादेखि २ किलोमिटर दूरीमा अवस्थित छ ।
५ अर्ब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत स्वपुँजी लगानी छ । कुमारी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र नेपाल पूर्वाधार विकास बैंकको लगानी रहेको छ । स्वपुँजीमध्ये डोल्मा इम्प्याक्ट फण्ड–२ ले ४९ प्रतिशत, सर्वसाधारणले ३० प्रतिशत र बाँकी संस्थाप सेयरधनीहरूको लगानी रहेको छ ।