काठमाडौँ । जिसी सोलार इनर्जी ग्रुप प्रालिले सुर्खेतको वीरेन्द्रनगरमा १.२ मेगावाटको ग्रिडमा आबद्ध सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ । यसका लागि कम्पनीले अनुमति लिन आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।
कम्पनीका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० मा करिब २.३७ हेक्टर जग्गामा आयोजनाका लागि सौर्य विद्युत् प्यानललगायतका उपकरण तथा संरचना निर्माण गर्ने प्रस्ताव गरिएको छ । आयोजनाका लागि विकास गरिने फार्ममा राखिने सोलर फोटोभोल्टिक प्यानलहरूबाट डिसी विद्युत् उत्पादन हुने र त्यसलाई ५० किलोवाट क्षमताका २४ वटा स्ट्रिंङ इन्भर्टरमार्फत १.२ मेवा विद्युत् उत्पादन गरिने छ । यसरी उत्पादित विद्युत्लाई ३३ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको सुर्खेत सबस्टेसनमा जोडिने छ ।
आयोजनाबाट वार्षिक २.५१८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने आयोजनाको निर्माण २०८३ असोजभित्र सक्ने लक्ष्य राखिएको छ ।