काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार का लागि उद्धारकर्मीलाई पठाउने तयारी सुरु गरिएको छ । उद्धार टोली केबल आउटलेट सुरुङको प्रवेशद्वारसम्म पुगेर लेदो सफा गर्ने काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार सुरुङभित्र सुरक्षित रूपमा प्रवेश गर्ने वातावरण तयार भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी भइरहेको छ । उद्धारकर्मीले सुरुङभित्र प्रवेश गरेपछि त्यहाँको वास्तविक अवस्था प्रत्यक्ष रूपमा निरीक्षण गर्दै उद्धार कार्यलाई अगाडि बढाउने योजना छ ।
नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीको टोली घटनास्थलमा खटिएको छ । यसअघि उद्धार टोलीले सुरुङको क्राउन अर्थात् माथिल्लो भाग पहिचान गरी एक्साभेटरको प्रयोगबाट त्यसलाई फुटाएर खुलाउने काम गरेको थियो । अवरोध हटाएर सुरुङभित्र सुरक्षित प्रवेशको अवस्था तयार भएपछि उद्धारकर्तालाई भित्र पठाउने योजना बनाइएको हो ।
उद्धारकर्मीसँग क्यामरा समेत टनेलभित्र पठाइनेछ । क्यामराबाट सुरुङभित्रको वास्तविक अवस्था बाहिरबाट समेत हेर्न र उद्धार कार्यलाई थप योजनाबद्ध ढंगले अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रारम्भिक अनुमानअनुसार टनेल पोर्टबाट करिब १८० मिटर अगाडि बढेपछि सम्भावित ‘वर्किङ स्पेस’ सम्म पुग्न सकिनेछ । उक्त स्थानसम्म उद्धार टोली पुग्न सके सुरुङभित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, उनीहरूको सम्भावित स्थान तथा सुरक्षाको स्थितिबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।
सुरुङ जाने उद्धार टोलीबाट प्राप्त हुने प्रत्यक्ष जानकारीका आधारमा उद्धार अभियानको आगामी चरण तय गरिने बताइएको छ ।