विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वर्षा सुरुभएसँगै खोला तथा नदीमा पानीको बहाब क्रमिक रूपमा बढेर देशभित्र जलविद्युत् उत्पादन बढ्न थालेपछि भारततर्फ विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । देशभित्र खपत गरी बाँकी रहेको रातिको बिजुली गत सोमबार (१४ जेठ बाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको जनाएको हो । 

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि बाँकी विद्युत् निर्यात सुरु गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा ४०० मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको बताए । 
 
‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पिक समयमा आन्तरिक खपत पनि २ हजार मेगावाट पुगेको छ, विगत ७/८ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४/साढे ४ करोड युनिट पुगेको छ ।’

आन्तरिक माग पूरा गरी अतिरिक्त भएको १ हजार २०० मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको उनले बताए । ‘निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूचीसहित भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेका छौँ,’ उनले भने । 

द्विपक्षीय सम्झौता बमोजिम बिहार राज्यलाई करिब २०० मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० मेगावाट हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले बताए । 

केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाहरूबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म ५ वर्षका लागि ११० मेगावाट विद्युत् एनभिभिएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा विद्युत् खरिद बिक्रीको पनि अनुमति पाएको छ । 
६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । 

कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगहरूमा विद्युत् आपूर्तिमा केही समस्या रहेको उल्लेख गरे ।

‘पिलुवा–परपानीपुर प्रसारण लाइनको हालको कन्डक्टरलाई बदलेर एचटिएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको छ, एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युत्बाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगहरूमा विद्युत् आपूर्तिको केही समस्या छ, कन्डक्टर बदल्ने काम २÷३ दिनमा सकिने छ, त्यसपछि हालको समस्या समाधान हुनेछ ।’ दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब २ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा–परपानीपुर १३२ केभी प्रसारण लाइनका क्षमता डबल हुने छ । परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत् निर्यात हुनेछ  । 

हिउँदमा १५ अर्बको विद्युत् आयात

नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रूपैयाँको विद्युत् भारतबाट आयात गरेको छ । सुख्खायाम सुरु भएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले गत वर्षको जेठदेखि यसवर्षको हालसम्म १५ अर्ब ६२ करोड रूपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रूपैयाँको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रूपैयाँको बढी विद्युत् आयात गरेको हो । यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो ।

आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत्‌को प्रतियुनिट औसत मूल्य ९ रूपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रूपैयाँ ३८ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठको बाँकी समय र असार महिनामा निर्यात हुने विद्युत् परिणामबाट चालू आर्थिक वर्ष (आव)मा आयातभन्दा निर्यात बढी भई खूद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए । ‘६/७ वर्षअघिसम्म विद्युत्को आयातकर्ताको मात्र अवस्था थियो, २/३ वर्षअघिबाट विद्युत्‌को निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी भई खूद आयातकर्ता बन्ने अवस्था थियो भने अब यस वर्षबाट खूद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘चालू आवमा निर्यातभन्दा आयात १ अर्ब ७४ करोड रूपैयाँले बढी देखिएको छ, आवको बाँकी अवधिमा निर्यात हुने विद्युत्‌को परिणामले यो ग्यापलाई पूरा गरी खूद निर्यातकर्ताका रूपमा रहने छौँ ।’

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३