काठमाडौँ । नेपाली काँग्रेसको सुवेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को आगामी अध्यक्षका लागि इन्जिनियर द्वय धनेन्द्र केसी र रविभुषण झाबीच प्रतिस्पर्धा हुँदै छ । भोलि (शनिबार, भदौ १४ गते) हुने संस्थाको ८औँ कार्यकारिणी समितिको निर्वाचनमा केसी र झा छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन् ।
दुवै उम्मेद्वारसँग नेपालको इन्जिनियरिङ क्षेत्रमा काम गरेको झण्डै दुई दशक लामो अनुभव छ । करिब २५ वर्ष यो क्षेत्रमा काम गरिसकेको हुँदा इन्जिनियरहरूको हकहितमा आवाज उठाउनु आफ्नो पहिलो कर्तव्य रहेको केसीको भनाइ छ । यस्तै, नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) को महासचिव रहिसकेका झा पनि इन्जिनियरहरूको हकहितमा आवाज बुलन्द गर्दै विभिन्न नीति निर्माण तहमा दबाब दिने बताउँछन् ।
अध्यक्षका दाबेदार केसीले पुराना अग्रजहरूको अनुभवको आधारमा नयाँ पुस्ताको ऊर्जा, जोश र जाँगरलाई उपलब्धिमा रूपान्तरण गर्ने बताइरहेका छन् । गरिमामय विगतको सम्मान गर्नु सबैको कर्तव्य रहेको र इतिहास बिर्सेर भविष्य निर्माण गर्न नसकिने केसीको धारणा छ । अग्रजहरूको जगमा टेकेर एक्सटेन्सिभ ढंगले नयाँ काम गर्ने जाँगर देखाएका केसी युवा इन्जिनियरहरूका समस्या समाधानमा लाग्ने बताउँछन् ।
अर्का प्रत्यासी झाले सिडेनलाई चलायमान, सक्षम र सदस्य–हितमैत्री बनाउन आफू कटिबद्ध रहने प्रतिबद्धता जनाएका छन् दाबी गरेका छन् । संस्थाको महत्त्वलाई आत्मसात गर्दै, विगतझैँ इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्ने उनको दाबी छ ।
६ हजार ५४७ इन्जिनियरहरू आवद्ध रहेको सिडेनको निर्वाचन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।
केसीको पृष्ठभूमि
ललितपुर जिल्लाका स्थायीबासी केसी २०५५ मा इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना भई २०५८ मा उत्तीर्ण भएका हुन् । एडभान्स इन्जिनियरिङ कलेजमा स्नातक सिभिल इन्जिनियरिङमा भर्ना भई अध्ययन गरेका उनले २०६७ सालमा नेपाल इन्जिनियरिङ कलेजबाट कन्स्ट्रक्सन म्यानेजमेन्टमा स्नातकोत्तर गरेका हुन् ।
दुई दशकदेखि पूर्वाधार विज्ञको रूपमा काम गर्दै आएका केसी हाल सोसाइटी नेपाल कन्स्ट्रक्सन कम्पनीको प्रबन्ध निर्देशकको जिम्मेवारीमा छन् । देशमा मात्र सीमित नभई छिमेकी मुलुक भारत, जापान, चीनलगायत देशमा काम गरेको अनुभवसमेत संगालेका उनले थाइल्यान्डको फुकेट क्याम्पसमा इन्भाइरोन्मेन्ट इन्जिनियरिङबाट विद्यावारिधि (पिएचडी) गर्दैछन् ।
सिडेनमा करिब दुई दशकदेखि आवद्ध भएर काम गरिरहेका केसी यसअघि सिडेनकै दोस्रो कार्यसमिति उपमहासचिव तथा एनइएको निर्वाचनमा युवा परिचालन समितिको संयोजक थिए ।
केसीका मुद्दा
– इन्जिनियरहरूको पेशागत सुरक्षा गर्ने ।
– ऐन, नियम, कानुनका चेपुवामा परेका इन्जिनियरहरूलाई अख्तियार, सरकारी नियुक्त लगायत समस्याबाट मुक्त गराउने ।
– राजनीतिक दलबीच पूर्वाधार विकासका क्षेत्रमा ऐकेबद्धता कायम गर्ने ।
– पूर्वाधारको नीतिमा, विकासमा, आर्थिक पाटोमा बोल्न र सकारात्मक पैरवी गर्ने ।
– उन्नत प्रकारको सिडेन निर्माण गर्न अग्रजको अनुभव र अनुजको ऊर्जाका साथ काम गर्ने ।
झाको पृष्ठभूमि
पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा इन्भारमेन्टल इन्जिनियरिङमा स्नातकोत्तर गरेका झा लामो समयदेखि परामर्श सेवामा संलग्न छन् । इन्जिनियरहरूका लागि रोजगारी सिर्जनाका क्षेत्रमा लागेका उनी देशभित्र निर्माण हुँदै गरेका ठूला–साना पूर्वाधार परियोजनामा सक्रिय पनि छन् ।
एनइएको उप–महासचिव र महासचिवको जिम्मेवारी समेत पूरा गरेका उनले इन्जिनियरहरूको हकहितमा आवाज उठाउँदै आएका छन् । विभिन्न खालका नीति निर्माण तहमा दबाब सिर्जना गर्दै आएको उनको दाबी छ ।
झाका मुद्दा
– इन्जिनियरिङ क्षेत्रका समस्या समाधान गर्न पेशागत मूल्य–मान्यता कायम गर्नु ।
– इन्जिनियरिङ क्षेत्रका त्रुटिहरू अध्ययन गरी सुधार गर्दै जाने ।
– विद्यमान नीति नियम परिवर्तन गर्न नेपाली काँग्रेसमार्फत राज्यलाई झकझकाउने ।
– इन्जिनियरहरूको अधिकार र सम्मानित जीवन सुरक्षित गर्ने ।
– राष्ट्र निर्माणमा नीतिगत सुधारमार्फत इन्जिनियरको योगदानलाई केन्द्रमा ल्याउने ।
– देशको विकास निर्माणमा देखिएका वेथितिहरूका विषयमा आवज उठाउने ।