विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार १५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाले कर्णाली प्रदेशमा सडकसहितका पूर्वाधार विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुगेको पाइएको छ । आयोजनाको निर्माण सुरु भएसँगै प्रदेशका कठिन भूगोलमा सडक–पुल जस्ता पूर्वाधारको विकास, आर्थिक–सामाजिक क्षेत्रमा सुधार, क्षेत्रीय आर्थिक गतिविधि विस्तार जस्ता महत्त्वपूर्ण गतिविधिमा बढोत्तरी भएको पाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अघि बढाएको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत जगदुल्ला हाइड्रोपावर कम्पनीले डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा २ आंशिक–जलाशय आयोजना विकास गरिरहेको छ । यही आयोजनाले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डको कठिन भीर छिचोलेर सडक खन्ने काम तथा उक्त पहुँच मार्गमा १० वटा बेली ब्रिज निर्माण समेत गरिसकेको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जय सापकोटाले बताए । ‘करोडौँ रुपैयाँमा निर्मित यी संरचनाले आयोजनालाई मात्र नभई स्थानीय बासिन्दालाई समेत प्रत्यक्ष लाभ पुर्‍याइरहेका छन्,’ उनले भने, ‘विगतमा घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यतालाई हटाउँदै यातायातको पहुँच सहज बनाएका छन् ।’
 
केही वर्षअघिसम्म नेपालगञ्जबाट डोल्पा पुग्न ३ दिनभन्दा बढी समय लाग्ने र वर्षायाममा आवागमन लगभग अवरुद्ध हुने अवस्था थियो । अहिले एकै दिनमा यात्रा सम्भव हुने अवस्था बनेको छ । आयोजनाले निर्माण गरेको सडक तथा पुलकै कारण डोल्पाको सदरमुकाम दुनैबाट काठमाडौँसम्म रात्रिबस सञ्चालन हुने वातावरणसमेत तयार भएको छ ।

उनका अनुसार आयोजना निर्माणसँगै तयार भइरहेका सडकसहितका पूर्वाधारले उक्त  क्षेत्रको पर्यटनमा समेत दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ । रारा, शे–फोक्सुन्डो, जगदुल्ला जस्ता ताल क्षेत्र तथा उपल्लो डोल्पा, जुम्ला तथा मुगुसम्म पुग्ने वैकल्पिक र छोटो मार्ग आयोजनाले विकास गर्न थालेपछि कर्णाली प्रदेशको पर्यटन सम्भावना थप विस्तार हुने देखिएको छ ।

समग्र आर्थिक दृष्टिले नै आयोजनाको योगदान महत्त्वपूर्ण हुने अनुमान गरिएको छ । विद्युत् आयोजना सञ्चालनमा आएपछि सङ्घीय सरकारले करिब १९ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारले ९ करोड ५० लाख रुपैयाँ र स्थानीय तहले ९ करोड ५० लाख रुपैयाँ वार्षिक रूपमा रोयल्टी प्राप्त गर्ने छन् । यसले स्थानीय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजन गरी  कम्पनीले जगदुल्लाबाट १०६ मेगावाट र जगदुल्ला–ए बाट १२४.३५ मेगावाट गरी कुल २३०.३५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए ।

हाल १०६ मेगावाटको आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद सम्झौता (पिपिए), वित्तीय व्यवस्थापन, उत्पादन अनुमतिपत्र तथा उद्योग दर्तालगायत तयारीका काम सम्पन्न भइसकेका छन् । मुख्य निर्माण कम्पनीसँग २०८२ साउन २६ गते सम्झौता भएपछि आयोजनाको भौतिक निर्माण कार्य अघि बढेको थियो ।

त्यस्तै, १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सकिएको छ । वातावरणीय अध्ययन, जग्गा अधिग्रहण, पिपिए, वित्तीय व्यवस्थापन तथा अनुमतिपत्र सम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनीमार्फत नेपाली इन्जिनियरहरूबाटै आयोजनाको सर्वेक्षण, डिजाइन तथा लागत अनुमान तयार गरिएको हो ।

कम्पनीमा सरकारी निकाय, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहहरूको गरी कुल ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय बासिन्दाका लागि छुट्टै १० प्रतिशत सेयर सुरक्षित गरिएको छ ।

आयोजनाको विद्युत् प्रवाह गर्न निर्माण गरिने प्रसारण लाइनको मार्गाधिार (राइट अफ वे) भित्र पर्ने जग्गाधनीलाई ३ प्रतिशत सेयर दिने व्यवस्था पनि गरिएको छ ।

आयोजनामा करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाहरूबाट जुटाइएको छ । जसमा नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआइसी एसिया बैंकको सहभागितामा वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३