काठमाडौँ । पछिल्लो दशकमा ऊर्जा तथा जलविद्युत् विकासमा लगानी बढाइरहेको एनएमबी बैंक लिमिटेडले ८ अर्ब रुपैयाँ भन्दा बढीको हरित ऋणपत्र (ग्रिन बण्ड) जारी गर्ने भएको छ । इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी), ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बिआइआई) र मेटा लाइफसँगको साझेदारीमा उक्त जारी गर्ने भएको हो ।
बैंकका अनुसार अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको सहकार्यमा ६ करोड अमेरिकी डलर (करिब ८ अर्ब १८ करोड रुपैयाँ) बराबरको नेपाली रुपैयाँ अंकित ऋणपत्र जारी हुनेछ । हरित ऊर्जा विकासमा लगानी गर्ने उद्देश्य अनुसार जारी हुने ऋणपत्रका सम्बन्धमा आज बैंक र विदेशी संस्थाहरूबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस खालको सहकार्यले जलवायु परियोजनामा संलग्न उद्यम तथा हरित आयोजनामा लगानी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । यसले देशको ऊर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास गरिएको छ । उक्त ऋणपत्र जारी गरेपछि मुख्यतः सौर्य लगायत नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता आयोजनामा लगानी विस्तार गर्ने लक्ष्य राखिएको छ । विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने पनि विश्वास गरिएको छ ।