रुकुम पश्चिम । रुकुम पश्चिमका १८ हजार घरधुरीमा अझै पनि राष्ट्रिय प्रसारण लाइनकाे बिजुली पुग्न बाँकी रहेकाे देखिएकाे छ । ६ वटा स्थानीय तह रहेकाे जिल्लाका २१ हजार ८५५ घरधुरीमा हालसम्म राष्ट्रिय प्रसारण लाइनकाे बिजुली पुगेकाे रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिए । प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षसम्म जिल्लाभरबाट राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् पहुँच पुगेका २ हजार ५०० घरधुरी थपिने प्राधिकरणको अनुमान छ ।
हालसम्म सानीभेरी गाउँपालिका–५ र ७ तथा आठविसकोट नगरपालिका–३ मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन । केन्द्रीय प्रसारण लाइन नपगुेका ती घरमा स्थानीयस्तरमा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गरिरहेका छन् । जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र राष्ट्रिय विद्युत् प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुख रासकोटीले बताए ।
जिल्लामा सञ्चालन भइरहेको पुनःविद्युतीकरण परियोजना तथा भम्पूचौर सबस्टेसनको काम सम्पन्न भएपछि जिल्लामा राष्ट्रिय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उनले जानकारी दिए । जिल्लाभर राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न करिब १६ करोड रूपैयाँ बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।