काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक ‘कोरम’ नपुगेपछि स्थगित भएको छ ।
२५ सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो । बिहान ११ः३० बजे बोलाइएको बैठकमा १० सदस्यको मात्र उपस्थिति रह्यो ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आफ्ना सदस्यहरुको संसदीय समितिमा हुने उपस्थिति र खेल्ने भूमिकाका आधारमा मूल्यांकन हुने बताइरहेका बेला कोरम नपुगेर बैठक स्थगित हुन पुगेको छ ।
सरकारका प्रतिनिधिको अनुपस्थिति भएमा बैठक नचलाइने अभ्यासअनुसार बैठकमा आमन्त्रण गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ भने समितिमा उपस्थित थिए ।
उपयुक्त समयमा अर्को बैठक बस्ने समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए । समितिमा २५ सदस्य छन् । बैठक सञ्चालनका लागि न्यूनतम १३ जना उपस्थित हुनुपर्छ ।
आजको बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित समितिमा परेका उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।