काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको ऊर्जा व्यापार तथा पूर्वाधार सल्लाहकार (विशिष्ठ श्रेणी) पदमा चितवनका विवेकराज कँडेल नियुक्त भएका छन् । नेपालको दीर्घकालीन ऊर्जा सुरक्षामा जोड दिँदै नीति तर्जुमा, आन्तरिक ऊर्जा क्षेत्रको सुधार, निजी क्षेत्रको लगानी आकर्षण जस्ता कार्यमा रणनीतिक परामर्शका लागि कँडेललाई नियुक्त गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
साथै, उनले वृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिने कार्यमा समेत योगदान पुर्याउने जनाइएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका कँडेलले हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्मेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपिए) तथा नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् ।
युएन डिपी, विश्व बैंक र आइरिनालगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा डेढ दशकभन्दा बढी काम गरेको अनुभवसमेत उनीसँग छ ।