विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कोसी प्रदेश कार्यालयले विभिन्न जिल्लामा रहेका नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र तथा ग्रीड महाशाखाको संयुक्त अनुगमन तथा सेवा प्रवाह मूल्याङ्कन सम्पन्न गरेको छ ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, प्राधिकरण कोसी प्रदेश प्रमुख राजीवकुमार सिंह लगायतको टोलीले आइतबार र सोमबार विराटनगर, दुहबी, इटहरी लगायत वितरण केन्द्र तथा ग्रीड महाशाखामा स्थलगत अवलोकन गरे । अनुगमनकै क्रममा उपभोक्तासँग छलफल तथा अन्तरक्रिया गर्दै सेवा प्रवाहमा देखिएको समस्या, सम्भावना र सुधारका सन्दर्भमा जानकारी सङ्कलन गरिएको थियो ।
टोलीले विशेषरूपमा विराटनगर, दुहबी तथा इटहरी वितरण केन्द्र एवम् दुहबी ग्रीड महाशाखामा निरीक्षण गर्दा सामान्यतः सेवा प्रवाह सन्तोषजनक पाइए पनि केही उपभोक्ताबाट आएको गुनासोलाई गम्भीरतापूर्वक ध्यान दिएको जनाइएको छ ।
‘अनुगमनकै क्रममा एक अचम्मको घटनाले टोलीको ध्यान खिच्यो, सागर थापा नाम बताउने व्यक्तिले साँझ ८ः१५ बजे ९७६३७०२७३४ नम्बरबाट फोन गरी धनकुटामा सेवा अवरुद्ध भएको जानकारी दिए,’ निरीक्षणमा संलग्न एक सदस्यले भने, ‘प्राधिकरणले सो क्षेत्रको अवस्थाबारे बुझ्दा कतै पनि त्यस्तो नभएको पुस्टि भयो ।
थप अनुसन्धानका क्रममा ती व्यक्तिले कर्मचारीलाई दुःख दिने नियतले अपमानजनक र उच्छृङ्खल भाषा प्रयोग गर्दै ‘बत्ती गएको’ भन्दै फेसबुक तथा युट्युब लगायत सामाजिक सञ्जालमा राखिदिने धम्की दिएको पनि बताइएको छ ।
ऊर्जा मन्त्रीका स्वकीय सचिव भुपालमान बस्नेतका अनुसार ती व्यक्ति धरानको पानमाराबाट फोन गरिरहेको पत्ता लागेको छ । उनले झुटा जानकारी मार्फत प्राधिकरण तथा मन्त्रालयको छबि धमिल्याउने प्रयास गरेको बस्नेतको भनाइ छ ।
केही दिनअघि मात्रै मन्त्री दीपक खड्काले झुटा विवरण दिएर सरकार र संस्थाको बदनाम गर्ने गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने बताएका थिए । मन्त्रालय र कोसी प्रदेशको संयुक्त अनुगमन टोलीले नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिँदै सत्य–तथ्य सूचनाको आधारमा सेवा प्रवाहमा सुधार ल्याउने प्रतिबद्धता जनाइएको छ । मन्त्रालयले यस्ता झुटा सूचना फैलाउने कार्यप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट सन्देश दिएको छ ।