बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा धमाधम विद्युतीकरणको काम भइरहेको छ । यहाँ रहेका तीन स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा विद्युत् सेवा विस्तार भइरहेको हो ।
‘उज्यालो पञ्चेश्वर’ बनाउने उद्देश्यले यहाँ विद्युत् विस्तारको काम धमाधम भइरहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । पालिकाले आफ्नो नीति तथा कार्यक्रममा उज्यालो पञ्चेश्वरलाई प्राथमिकता दिएको र सोहीअनुसार कार्यक्रम अघि बढिरहेको उनको भनाइ छ ।
‘नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेको छ, गाउँपालिकाभित्र ५ हजार घरधुरी रहेकोमा ४ हजार बढीमा सेवा पुगिसकेको छ,' उनले भने, 'उज्यालो पञ्चेश्वरको सपना थियो, पूरा हुने तयारीमा छ ।’
आर्थिक वर्ष (आव) २०७७/७८ देखि प्राधिकरणले लाइन विस्तारको काम गरिरहेको पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दले बताए । उनका अनुसार ४ करोड ९३ लाख रुपैयाँको ठेक्कामार्फत त्यस क्षेत्रमा विद्युतीकरणको काम भइरहेको र २ नम्बर वडामा केही दिनभित्रै बिजुली बत्ती बाल्ने अन्तिम तयारी गरिएको छ ।
वर्षौँदेखि टुकीको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय नरेन्द्र चन्दले बताए। ‘बिजुली सपनाजस्तै थियो तर अब भने त्यो पूरा भएको' भन्दै उनले खुसी व्यक्त गरे । प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जिल्लाका हरेक क्षेत्रमा सेवा पुर्याउने गरी काम भइरहेको बताए ।