काठमाडौँ । रातभरको वर्षापछि कुलेखानी (इन्द्रसरोवर) जलाशयको पानीको सतह तीव्र गतिमा बढ्न थालेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सीनाका अनुसार पछिल्ला दिनमा पूर्ण क्षमतामा सञ्चालन भइरहेको कुलेखानी जलाशयको सतह शनिबार रातिसम्म प्रतिघण्टा १ देखि २ सेन्टिमिटरका दरले मात्रै बढिरहेको थियो । तर, रातभर भएको वर्षापछि पानीको सतह बढ्ने गति उल्लेख्य रूपमा तीव्र भएको छ ।
उनका अनुसार आइतबार बिहान ६ बजे कुलेखानी जलाशयको पानीको सतह १ हजार ५२५.३७ मिटर पुगेको छ । शनिबार राति १० बजे १ हजार ५२४.०९ मिटर रहेको जलसतह मध्यरातमा १ हजार ५२४.१३ मिटर पुगेको थियो । बिहान २ बजे १ हजार ५२४.३६ मिटर, ३ बजे १ हजार ५२४.६३ मिटर, ३ः३० बजे १ हजार ५२४.७८ मिटर, बिहान ५ बजे १ हजार ५२५.११ मिटर र ५ः०८ बजे १ हजार ५२५.१६ मिटर पुगेको थियो ।
हाल जलाधार क्षेत्रमा प्रतिघण्टा करिब ११ मिलिमिटर वर्षा भइरहेको छ । पछिल्लो समयमा जलाशयको सतह प्रतिघण्टा करिब २२ देखि २३ सेन्टिमिटरका दरले बढिरहेको उनले जानकारी दिए ।
कुलेखानी जलाशयको पूर्ण जलसतह १ हजार ५३० मिटर हो । हालको वृद्धिदर कायम रहेमा जलाशयको सतह थप तीव्र गतिमा बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको हो ।
जलाशयको अवस्था हेरेर आवश्यकताअनुसार साइरन बजाउने तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सूचना पठाउने तयारीसमेत गरिएको छ । पानीको सतह यही गतिमा बढिरहेमा नियन्त्रित रूपमा बाँधका ढोका खोलेर पानी छोड्ने विषयमा सम्बन्धित व्यवस्थापन तथा प्राविधिकहरू छलफलमा जुटिसकेको तिम्सीनाले उल्लेख गरेका छन् ।