काठमाडौँ । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणसँगै नेपाल विद्युत् प्राधिकरणले मनसुनजन्य विपद्को सामना गर्न उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका सबै निकाय र पक्षलाई निर्देशन दिइएको छ । अत्यधिक वर्षाले विद्युत् पूर्वाधारमा पुर्याउन सक्ने सम्भावित क्षति र त्यसबाट उत्पन्न हुने विद्युत् आपूर्ति अवरोधलाई न्यूनीकरण गर्न प्राधिकरणले आफ्नो पूर्वतयारीलाई तीव्रता दिएको जनाएको छ ।
प्राधिकरणका अनुसार मनसुनमा आउन सक्ने बाढी, पहिरो र हावाहुरीले विद्युत् पोलहरू ढाल्ने, तारहरू चुँडाउने, ट्रान्सफर्मर तथा सबस्टेसनहरू डुबानमा पार्ने र जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याउने जोखिम उच्च छ । यी सम्भावित चुनौतीहरूलाई मध्यनजर गर्दै प्राधिकरणले पूर्वाधारको नियमित मर्मतसम्भार र सुदृढीकरण गरिरहेको छ ।
क्षति भएको खण्डमा तुरुन्तै मर्मत गर्न आपत्कालीन टोलीहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ र आवश्यक सामग्रीको पर्याप्त मौज्दात पनि सुनिश्चित गरिएको छ । जलविद्युत् आयोजनाहरूलाई पनि पानीको बहाव र गेगरको निगरानी गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, सर्वसाधारणलाई विद्युत् सुरक्षाबारे सचेत गराउनुका साथै स्थानीय प्रशासन र अन्य सरोकारवालाहरूसँग समन्वय गरी विपद्को समयमा एकीकृत रूपमा काम गर्ने योजना बनाइएको छ ।
प्राधिकरणले यस वर्षको मनसुन अवधिमा विद्युत् आपूर्तिलाई सकेसम्म नियमित राख्न र सम्भावित क्षतिबाट बच्न पूर्ण तयारीका साथ काम गरिरहेको जनाएको छ । साथै उपभोक्तालाई पनि विद्युत् सुरक्षाका सामान्य नियम पालना गरी सुरक्षित रहन प्राधिकरणले आग्रह गरेको छ ।