काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको प्रवक्तामा निर्देशक राजा भाइ शिल्पाकार नियुक्त भएका छन् । कार्यकारी निर्देशकको सचिवालयमा कार्यरत उनलाई आज जिम्मेवारी तोकिएको हो ।
यसअघि भार प्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोष उक्त जिम्मेवारीमा थिए । २०५४ साल साउन २३ गतेदेखि २०५८ साल बैशाखसम्म कुलेखानी संरक्षण आयोजना दोस्रो ‘फेज’मा इन्जिनियरको रूपमा प्राधिकरणको सेवा प्रवेश गरेका शिल्पाकार २०६० सालमा मात्र स्थायी भएका थिए । उनले २०४७ सालमा कुलेखानी संरक्षण आयोजनामा ओभरसियर भएर काम गरेका थिए ।
कुलेखानीपछि प्राधिकरण केन्द्रीय कार्यालयमा २ वर्ष जिम्मेवारी सम्हालेका शिल्पाकार २०६० साल मंसिर ११ गतेदेखि २०७६ साल फागुन २१ गतेसम्म ४ सय ५६ मेगावाट माथिल्लो तामाकोसीमा विभिन्न जिम्मेवारीमा रहेर काम गरे । यस तामाकोसीमा अध्ययन चरणदेखि करिब अन्त्यसम्म कार्यरत थिए ।
यस्तै, २०७६ फागुन २२ गतेदेखि २०८० पागुन २० गतेसम्म तनहुँ हाइड्रो पावर लिमिटेडमा कार्यरत थिए । तनहुँमा कार्यरत रहँदा उनी दुई वर्ष सिभिल निर्माण विभागको प्रमुख र अर्को दुई वर्ष आयोजना प्रमुखको जिम्मेवारीमा थिए । १०औँ तहबाट निर्देशकमा बढुवा भएपछि उनी कार्यकारी निर्देशकको सचिवालयमा सरुवा भएका थिए । प्राधिकरणमा करिब २५ वर्ष सेवा पूरा गरिसकेका सिल्पाकार शालिन एवम् मृदुभाषी कर्मचारीको रूपमा चिनिन्छन् ।