काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ ।यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा, आवश्यक संशोधन गरेपछि अन्ततः बिहीबार निवेदन दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
यसअघि प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि सर्वोच्चमा रिट दर्ता गरेका थिए । घिसिङले आफूलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै रिट दायार गरेका हुन् । घिसिङलाई पेशीका लागि शुक्रबार बोलाइएको छ ।
यद्यपि, शाक्यले यसअघि आफूलाई पदमुक्त गरी घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै २०७८ साल साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथिको सुनुवाईको पेशी ३२ पटकसम्म सरेर पनि सुनुवाई र आदेश नभएकोले छिटो सुनुवाई गरिदिन शाक्यले पुनः बिहीबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।
शाक्यलाई पनि पेशीका लागि शुक्रबार बिहान १० बजे अदालत बोलाइएको छ ।