काठमाडौँ । कस्मिक इलेक्ट्रिकल लिमिटेडमा आयोजना व्यवस्थापक (प्रोजेक्ट म्यानेजर) पदमा जागिर खुलेको छ । विद्युत् सम्बन्धी आयोजनाको विकास तथा परामर्स सेवाको क्षेत्रमा क्रियाशील रहँदै आएको संस्थाले उक्त पदमा एक जना नियुक्त गर्ने गरी विज्ञापन खोलेको हो ।
विज्ञापन अनुसार इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी सम्बन्धित क्षेत्रमा १० वर्षको कार्यानुभव भएका इच्छुक व्यक्तिले उक्त पदका लागि आवेदन दिन सक्ने छन् । पदमा नियुक्त हुने व्यक्तिले ताप्लेजुङ जिल्लामा रहने कम्पनीको आयोजना क्षेत्रमा रहेर काम गर्नुपर्ने छ ।
नियुक्त हुने व्यक्तिले प्रसारण लाइन आयोजनाको सम्पूर्ण व्यवस्थापन हेर्नुका साथै आयोजना निर्माणको गुणस्तर, सुरक्षा र समयमै निर्माण सक्ने विषयमा ध्यान दिएर व्यवस्थापकीय कार्य गर्नुपर्ने छ । यसका लागि आयोजनामा कार्यरत इन्जिनियरहरू, निर्माणमा परिचालित हुने सब–कन्ट्रयाक्टरहरू तथा आयोजनाको साइटमा रहने समूहसँग समन्वय गर्नुपर्ने छ ।
खास गरी प्रसारण लाइन आयोजना व्यवस्थापनको अनुभव भएको, उत्कृष्ट नेतृत्व क्षमता तथा व्यवस्थापकीय दक्षता, निर्माण योजना र कार्यान्वयनसम्बन्धी ज्ञान भएको, एकै पटक एकभन्दा बढी आयोजनालाई व्यवस्थापन गर्न सक्ने व्यक्ति आवश्यक भएको कम्पनीले जनाएको छ ।