विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कुल ५ अर्ब ७ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७३.५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको असोजसम्म २ अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

मासिक रूपमा हेर्दा भदौमा करिब साढे २४ प्रतिशत बढेको विदेशी लगानीले असोजमा पनि वृद्धिकै प्रवृत्ति पछ्याएको हो । यस अवधिमा अरुण तेस्रो जलविद्युत् आयोजना, अपर कर्णाली हाइड्रोपावरलगायत २८ कम्पनीमा विदेशी लगानी आएकाले एफडीआई वृद्धिदर राम्रो देखिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘गत आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी लगानी थोरै आएको थियो,’ उनले भने, ‘यो आर्थिक वर्षको तीन महिनामा केही बढेकाले तुलनात्मक रूपमा विदेशी लगानीको वृद्धिदर राम्रो देखिएको हो ।’ यद्यपि अपेक्षित रूपमा अझै विदेशी लगानी आउन भित्रिन नसकेको उनले स्विकारे । आर्थिक वर्ष २०७६/७७ मा करिब ४ अर्ब रुपैयाँ विदेशी लगानी आएको थियो ।

पछिल्ला महिनामा आएको विदेशी लगानी नयाँ नभई पहिल्यै स्वीकृत रकम भएको प्रवक्ता ढकालले बताए । ‘केही महिनायता नयाँ लगानीजस्तो लाग्दैन, पहिल्यै स्वीकृत लगानी आएको हुन सक्छ,’ उनले भने, ‘सुरुका एक/दुई महिनाका आधारमा वर्षभरको विदेशी लगानी अनुमान गर्न अप्ठ्यारो हुन्छ ।’ मुलुकमा राजनीतिकलगायत सबै वातावरणमा सुधार आउन सके आगामी दिनमा विदेशी लगानी पनि बढ्ने उनको अनुमान छ ।

असोजसम्म नेपाल आएको विदेशी लगानीमध्ये अरुण तेस्रो जलविद्युत् आयोजनामा मात्र भारतबाट करिब ३ अर्ब ६८ करोड रुपैयाँ आएको छ । अपर कर्णाली हाइड्रोपावरमा मौरिससबाट २२ करोड ३३ लाख, दराज नेपालमा सिंगापुरबाट ३३ करोड ५१ लाख रुपैयाँ र एनआरएन फन्डमार्फत विभिन्न मुलुकबाट करिब १३ करोड रुपैयाँ विदेशी लगानी आएको छ । उल्लिखित चार कम्पनीमा मात्र कुल ४ अर्ब ३६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको देखिन्छ । बाँकी २४ कम्पनीबाट ससानो आकारमा गरी करिब ७० करोड १६ लाख रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा साढे ६५ प्रतिशत विदेशी लगानी घटेको थियो । तर भदौ र असोजमा लगातार विदेशी लगानी बढिरहेको छ । गत आर्थिक वर्षका भदौ र असारबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । त्यतिबेला कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेको बताइएको थियो । यद्यपि गत आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको थियो ।

पछिल्ला वर्षमा नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको राष्ट्र बैंकको विदेशी लगानी सर्वेक्षणले देखाएको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी छ ।

नेपाल भित्रिएर लगानीमा रहेको कुल एफडीआईमध्ये सबैभन्दा धेरै भारतबाट आएको छ । यो नेपालमा आएर लगानीमा रहेको (स्टक) एफडीआई हो । हरेक वर्ष विदेशी लगानीको आप्रवाह (फ्लो) हेर्दा भारतभन्दा धेरै लगानी अन्य राष्ट्रबाटै आएको सर्वेक्षणले औंल्याएको छ ।

नेपालमा रहेको कुल लगानीमध्ये भारतको हिस्सा ३१.५ प्रतिशत छ । उक्त अवधिसम्म भारतबाट ६२ अर्ब ४४ करोड रुपैयाँ विदेशी लगानी आएको देखिन्छ । भारतबाट आएको कुल लगानीमध्ये ३९.१ प्रतिशत उत्पादनमूलक, ४२.२ प्रतिशत बिजुली, ग्यास र पानी, २३ प्रतिशत बैंक तथा बिमा र ३.७ प्रतिशत अन्य क्षेत्रमा छ । भारतपछि धेरै विदेशी लगानी नेपाल आउने राष्ट्र चीन हो । हाल चिनियाँ लगानीकर्ताबाट ३० अर्ब ९७ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यो कुल विदेशी लगानीको करिब १५.६ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमध्ये ४१.३ प्रतिशत उत्पादनमूलक, ५८.४ प्रतिशत बिजुली, ग्यास र ०.३ प्रतिशत अन्य क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ ।

कर छल्न सजिलो मानिएको ‘ट्याक्स हेवन’ भनिने सेन्ट किट्स एन्ड नेभिसबाट नेपालमा कुल १५ अर्ब २६ करोड लगानी आएको सर्वेक्षणले देखाएको छ । यो कुल विदेशी लगानीको करिब साढे ७ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०७५/७६ सम्म उक्त राष्ट्रबाट करिब २४ अर्ब रुपैयाँ विदेशी लगानी आएको थियो । आयरल्यान्डबाट कुल लगानीको ६.५, सिंगापुरबाट ६.३, अस्ट्रेलियाबाट ५.५, यूएईबाट ३.६ र दक्षिण कोरियाबाट ३.६ प्रतिशत विदेशी लगानी छ । यस्तै, अमेरिकाबाट ३.१, बंगलादेशबाट २.७ र अन्य शीर्षकमा करिब १४ प्रतिशत विदेशी लगानी भित्रिने गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit